काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र शुरू हुँदैछ । बन्दसत्र शुरू हुनुअघि पार्टीको आन्तरिक संरचनालाई थप समावेशी र फराकिलो बनाउने उद्देश्यले केन्द्रीय समिति बैठक बसिरहेको छ ।
बैठकमा विधान संशोधन प्रस्ताव प्रस्तुत गरिएको छ। पार्टीभित्र पदको आकांक्षा राख्ने नेताहरूको संख्या बढ्दै गएको र समावेशी प्रतिनिधित्वलाई अझ सुदृढ गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै पदाधिकारी र विभिन्न क्लस्टरका केन्द्रीय सदस्यहरूको संख्यामा भारी फेरबदल गर्ने प्रस्ताव तयार पारिएको हो । यो प्रस्तावलाई केन्द्रीय समितिबाट पारित गराएर महाधिवेशनको बन्दसत्रमा पेस गर्ने अन्तिम तयारी छ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रस्तावित नयाँले अब पार्टीमा पदाधिकारीहरूको आकार पनि बढ्ने भएको छ। जसअनुसार हालको व्यवस्थामा फेरबदल गर्दै उपसभापति ३ जना र महामन्त्री पनि ३ जना नै राख्ने प्रस्ताव बैठकमा पेश गरिएको छ ।
त्यस्तै, पार्टीको साङ्गठनिक सुदृढीकरणमा महत्वपूर्ण मानिने सहमहामन्त्री पदमा पनि संख्या थप गरिएको छ। यसअघि कायम रहेका ११ वटा सहमहामन्त्री पदमा थप ४ वटा पद जोडेर कुल १५ पुर्याउने प्रस्ताव गरिएको छ, जसमा कम्तीमा ४ जना महिला सहमहामन्त्री हुनैपर्ने अनिवार्य व्यवस्था प्रस्ताव गरिएको छ।
केन्द्रीय समितिको कूल आकारलाई पनि फराकिलो बनाइएको छ। खुलातर्फ केन्द्रीय सदस्यमा १० वटा सिट थप गरेर अब संख्या ४५ पुर्याइएको छ भने विभिन्न समावेशी तथा क्षेत्रीय क्लस्टरहरूमा पनि प्रतिनिधित्व बढाइएको छ। प्रस्तावअनुसार प्रत्यक्ष निर्वाचित महिला केन्द्रीय सदस्यको संख्या १२ पुर्याइएको छ भने प्रत्येक प्रदेशबाट ४ जनाका दरले जम्मा २८ जना केन्द्रीय सदस्य रहने व्यवस्था प्रस्ताव गरिएको छ।

त्यसैगरी, विभिन्न सामाजिक तथा उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न दलिततर्फ ५ मा ७ थपेर १२, आदिवासी जनजातीतर्फ ८ मा ९ थपेर १७, खस आर्यतर्फ ७ मा ८ थपेर १५ र मधेशीतर्फ ५ मा ६ थपेर ११ जना केन्द्रीय सदस्य पुर्याउने प्रस्ताव गरिएको छ।

थारू समुदायबाट १ मा ४ थपेर ५, मुस्लिम समुदायबाट १ मा २ थपेर ३, र पिछडिएको क्षेत्रबाट १ मा १ थपेर २ जना केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरिएको छ। अल्पसङ्ख्यक र अपाङ्गता भएका क्षेत्रबाट एक–एक जना गरी २ जनाको प्रतिनिधित्व सुनिश्चित गरिने छ भने श्रमिकतर्फ १ मा २ थपेर ३ र पेसागत क्षेत्रबाट २ मा ५ थपेर ७ जना केन्द्रीय सदस्य पुर्याउने प्रस्ताव छ। यसपटकको विधान संशोधनको सबैभन्दा नयाँ र महत्त्वपूर्ण पक्षका रूपमा प्रजातान्त्रिक सेनानी, सहिद परिवार र द्वन्द्वपीडित क्षेत्रबाट समान रूपमा १–१ जना गरी कुल ३ जना नयाँ केन्द्रीय सदस्य थप गरिएको छ, जुन कांग्रेसको इतिहासमा पहिलो पटक हो।

आइतबार खुलामञ्चमा उद्घाटन भएको १५औँ महाधिवेशनले यी सांगठनिक र विधानगत प्रस्तावहरूमाथि आजदेखि हुने बन्दसत्रमा गहिरो छलफल गर्नेछ ।
बैठकले सभापति गगन थापाले बन्द सत्रमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । अहिले खाना खाएर बैठक फेरि बस्नेछ ।