काठमाडौँ । हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओरबानले निर्वाचनमा पराजय स्वीकार गरेका छन् ।
सार्वजनिक प्रारम्भिक नतिजापछि उनले परिणामलाई ‘पीडादायी’ भन्दै सत्ता छोड्ने घोषणा गरेका हुन् ।
राजधानी बुडापेस्टमा समर्थकहरूलाई सम्बोधन गर्दै ओरबानले विजयी पक्षलाई बधाई दिएको र अब विपक्षमा बसेर देशको सेवा गर्ने बताएका छन् । उनी लामो समयदेखि दक्षिणपन्थी राजनीतिका प्रभावशाली नेताका रूपमा चिनिन्थे ।
प्रारम्भिक नतिजाअनुसार विपक्षी नेता पिटर माग्यार नेतृत्वको टिसा पार्टीले स्पष्ट अग्रता लिएको छ । करिब ९८ प्रतिशत मत गणना सकिँदा १९९ सदस्यीय संसदमा टिसा पार्टीले १३८ सिट जित्ने देखिएको छ । सत्तारुढ फिदेज पार्टीले ५५ सिटमा सीमित हुँदा ‘अवर होमल्यान्ड’ पार्टीले ६ सिट प्राप्त गरेको छ । विजयपछि माग्यारले डेन्यूब नदी किनारमा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै सरकार परिवर्तन गरेको बताए छन् । उनले ओरबानले फोनमार्फत आफूलाई बधाई दिएको जानकारी पनि दिएका छन् ।
ओरबानले भने परिणाम स्पष्ट र पीडादायी भएको स्वीकार्दै आफूलाई साथ दिने लाखौँ मतदातालाई धन्यवाद दिएका छन् । उनले आगामी दिन घाउ निको पार्ने समय भएको प्रतिक्रिया दिएका छन् ।

नयाँ सरकार गठनतर्फ अग्रसर माग्यारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, भ्रष्टाचार नियन्त्रण, स्वतन्त्र न्याय प्रणाली स्थापना तथा अघिल्लो शासनकालका नीतिहरू परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् । संविधान संशोधनका लागि आवश्यक १३३ सिटभन्दा बढी समर्थन टिसा पार्टीले प्राप्त गर्ने देखिएको छ ।
