काठमाडौं । झापा जिल्लाको दमकमा निर्माणाधीन भ्युटावरको निर्माण र सञ्चालनबारे महालेखा परीक्षकको कार्यालयले तीन वर्षदेखि लगातार प्रश्न उठाउँदै आएको छ । आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको भ्युटावर निर्माण कार्य समयमा नसकिएको भनी आव २०७६/७७ को प्रतिवेदनदेखि नै महालेखाले प्रश्न उठाएको हो ।
२०७८ मा राष्ट्रपतिसमक्ष प्रस्तुत ५८औँ प्रतिवेदनमा “भ्युटावर निर्माण (आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २२) मा प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन, आर्थिक, प्राविधिक तथा प्रशासनिक उपयुक्तताका आधारमा प्रतिफलको समेत विचार गरी आयोजना स्वीकृत हुनुपर्ने” उल्लेख भएको जनाउँदै उक्त भ्युटावर बनाउँदा त्यसो नगरिएको ठहर गरिएको थियो ।
२०७८ पुस २७ भित्र काम सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी जेडसीजीआईईसी, आशीष र ओम साईराम जेभीसँग २०७६ असार २७ गते एक अर्ब ५६ करोड १४ लाख रुपियाँको सम्झौता भएको थियो । पछि त्यो म्याद २०८० असार २७ सम्म थपिएको छ । तर त्यस समयमा पनि निर्माण नसकिने भएको छ । समयमा नसकिएको बारे २०७९ सालमा प्रस्तुत ५९औँ प्रतिवेदनमा पनि प्रश्न गरिएको छ ।
त्योभन्दा पनि महालेखाको प्रश्न माग तथा आवश्यकता पहिचानका आधारमा लगानीको प्रतिफल सुनिश्चित हुनेगरी आयोजना सञ्चालन गरिनुपर्नेमा त्यसो नभएको भन्ने हो । निर्धारित समयमा निर्माण पूरा नभएपछि आयोजनाको म्याद र लागत दुवै बढाइएको छ । महालेखाको २०७९ को ५९औँ प्रतिवेदनअनुसार समयमा र निर्धारित लागतमा निर्माण नसकिएपछि २०७७ फागुन ७ गते भेरिएसनबाट दुई करोड सात लाख ६७ हजार रुपियाँ थप भई संशोधित सम्झौता रकम एक अर्ब ५८ करोड २२ लाख रुपियाँ पुगेको छ । यो वर्षसम्म ६७ करोड ३३ लाख छ हजार रुपियाँ भुक्तानी भइसकेको छ र भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४१ प्रतिशत भएको छ । उक्त टावर निर्माण कार्यको सुरुमा तोकिएको म्याद समाप्त भइसक्दा १२ तलासम्मको संरचना मात्र तयार भएको देखिन्छ ।
२०७९ को ६०औँ प्रतिवेदनमा महालेखाले भ्यु टावरमा सपिङ मल, बैङ्कलगायतका कर्पोरेट हाउस एवं सिनेमा हलजस्ता सुविधा रहने विस्तृत आयोजना प्रतिवेदनमा उल्लेख भए पनि दमक बजारक्षेत्रबाट उत्तरतर्फ भौतिक पूर्वाधार नपुगेको पाँच बिघा क्षेत्रफलमा फैलिएको यो भ्युटावर सञ्चालनको कार्यविधि र त्यसबाट प्राप्त हुने प्रतिफलको सुनिश्चितताबारे अध्ययन नभएको पुनः उल्लेख गरेको छ । माग तथा आवश्यकता पहिचानका आधारमा लगानीको प्रतिफल सुनिश्चित हुनेगरी यस्ता आयोजना सञ्चालन गरिनुपर्दछ ।
सङ्घीय सरकारको बजेटबाट निर्माण हुने तर स्वामित्व दमक नगरपालिकामा रहने यस आयोजनाबारे महालेखाको प्रश्नमा अहिलेसम्म कुनै काम भएको छैन । बरु पछिल्लो पटक आगामी असार २७ सम्म निर्माण सक्नुपर्ने भए पनि फेरि समय र बजेट माग्ने प्रस्ताव गर्न लागिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS