काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दाना र उनका पति विजय देवरकोन्डा आफ्नो वैवाहिक सम्बन्धबारे सामाजिक सञ्जालमा भइरहेको टिप्पणीपछि चर्चामा आएका छन् । दुवैले छुट्टाछुट्टै पोस्टमार्फत आफ्नो सम्बन्धबारे उठेका प्रश्न र आलोचनाको जवाफ दिएका छन् । रश्मिकाले आफूलाई विजयप्रति गहिरो प्रेम रहेको बताउँदै फेरि पनि उनलाई नै जीवनसाथीका रूपमा रोज्ने उल्लेख गरेकी छन् ।
यो विवाद टेलिभिजन कार्यक्रम ‘कफी विथ करण ९’ मा उनीहरूबीच भएको कुराकानीपछि सुरु भएको थियो । कार्यक्रममा करण जोहरसँग कुराकानी गर्दै रश्मिका र विजयले आफ्नो सम्बन्ध र विवाहबारे अनुभव सुनाएका थिए । रश्मिकाका अनुसार उनले विजयसँग विवाहबारे सोधेकी थिइन् । विजयले उनलाई सय पटक सोध्न भनेपछि आफूले करिब एक वर्षसम्म यसबारे कुरा गरेको उनले बताएकी थिइन् । तर, उक्त कुराकानी हाँसोठट्टाको वातावरणमा भएको थियो ।
विजयले कार्यक्रममा विवाहजस्तो ठूलो निर्णय तत्कालीन भावनाका आधारमा मात्र लिन नचाहेको बताएका थिए । उक्त कुराकानीको केही अंश सामाजिक सञ्जालमा भाइरल गराउदै ट्रोल भएपछि कतिपय प्रयोगकर्ताले विजयको व्यवहारमाथि प्रश्न उठाउँदै उनलाई ‘रेड फ्ल्याग’ अर्थात् सम्बन्धमा समस्या निम्त्याउन सक्ने व्यक्तिका रूपमा टिप्पणी गरेका थिए । केहीले रश्मिकाले अझ राम्रो जीवनसाथी पाउनुपर्ने भन्दै उनलाई सम्बन्धबारे सल्लाहसमेत दिएका थिए । यद्यपि, कतिपयले टेलिभिजन कार्यक्रममा भएको केही मिनेटको कुराकानीका आधारमा कुनै जोडीको सम्पूर्ण सम्बन्धबारे निष्कर्ष निकाल्न नहुने बताएका थिए ।
त्यसपछि रश्मिकाले लामो पोस्ट लेख्दै आफू र विजयको सम्बन्धबारे स्पष्ट पारेकी छन् । सामान्यतया यस्ता टिप्पणीमा प्रतिक्रिया नदिने भए पनि यसपटक आफ्नो सम्बन्धबारे भइरहेको अनावश्यक टिप्पणी र सल्लाहले आफू अचम्मित भएको उनले बताएकी छन् । विवाहका लागि सय पटक सोधेको वा एक वर्षसम्म कुरेको विषय नै मुख्य नभएको उल्लेख गर्दै उनले दुवैले एकअर्कालाई बुझ्न पर्याप्त समय र अवसर दिएको बताएकी छन् । जीवनका सुखदुःख र तनावपूर्ण परिस्थितिमा पनि सँगै रहन चाहन्छौँ भन्ने निश्चित गरेपछि आफूहरूले एकअर्कालाई रोजेको उनको भनाइ छ ।
रश्मिकाले आफ्नो वैवाहिक सम्बन्धबारे अरूले चिन्ता लिन आवश्यक नरहेको बताउँदै आफू विजयप्रति अत्यन्तै प्रेममा रहेको उल्लेख गरेकी छन् । फेरि जीवनसाथी रोज्ने अवसर पाए पनि विजयलाई नै रोज्ने र सय पटक मात्र होइन, हजार पटक पनि विवाहबारे सोध्न तयार हुने उनले बताएकी छन् । महिलाको परिवार र निजी जीवनबारे नबुझी सम्बन्धबाट बाहिरिन सल्लाह दिनुलाई नारीवाद भन्न नमिल्ने उनको टिप्पणी छ । उनले यस्तो व्यवहारलाई ‘नारीवादको नाममा गरिने दुर्व्यवहार’ का रूपमा व्याख्या गरेकी छन् ।

रश्मिकाको पोस्टपछि विजयले पनि सामाजिक सञ्जालमा पत्नीसँगका तस्बिर र भिडियो साझा गर्दै आफूहरू निकै खुसी रहेको बताएका छन् । उनले रश्मिकालाई आफ्नो सबैभन्दा मिल्ने साथी, पत्नी र जीवनयात्राकी सहयात्री भन्दै उनलाई जीवनसाथीका रूपमा रोज्नु आफ्नो सही निर्णय भएको उल्लेख गरेका छन् । संसारभरिका मानिस आफ्नो विरुद्धमा भए पनि आफू र रश्मिका सँगै रहने आशय व्यक्त गर्दै उनले प्रेम र खुसीसहित सरल जीवन बिताउने सबैलाई शुभकामना दिएका छन् ।

