काठमाडौं । नेपाल एअरलाइन्सका क्याप्टेन विजय लामाले मुलुकमा लोकतन्त्र र गणतन्त्रको नाममा व्यक्तिमाथिको अपमान दिनप्रतिदिन बढिरहेको बताएका छन् ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा आज आयोजित राष्ट्रिय युवा संसद सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको हवला दिँदै मान्छेहरूले जसलाई जे पनि भनेर अपमान गरिरहेको बताएका हुन् ।
‘आज सम्पूर्ण कुरामा स्वतन्त्रता छ, भेला हुने स्वतन्त्रता छ, त्यसकारण जे पनि भन्न सक्छौँ भनेर सोच राखेर अगाडि बढेका छौँ । तर, त्यो सोचमा पनि विकृति आएको छ,’ क्याप्टेन लामाले भने, ‘बोलन पायो भन्दैमा जे पायो त्यही बोलेर जो पायो त्यहीलाई अपमान गर्दै हिँड्ने पैवृत्तिको एकदमै धेरै विकास भएको हामी देख्छौँ । त्यसलाई रोक्न पनि तपाइँहरू (युवाहरू) को खाँचो छ ।’
उनले शिक्षित युवा वर्गको संख्या बढेको समाजमा सकारात्मकताको खोजी हुनुपर्ने, युवाहरूले आफ्नो कर्ममा विश्वास गर्नुपर्ने र आफूले अँगालेको काम कहिल्यै सानो ठान्न नहुने भन्दै युवाहरू संयमित भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘युवाहरू धेरै बहकिनु हुँदैन । समय भन्दा ठूलो केही छैन । यसको सदुपयोग गर्नुपर्छ । समयअघि र पछिको पहलकदमी अर्थहीन हुन्छ,’ उनले भने, ‘अस्तित्वको स्वामित्व लिन सिक्नुस् । दिइएको काम जिम्मेवारीपूर्वक सम्पन्न गर्नुहोस् यो देश आफैं बन्छ कसैले बनाउनै पर्दैन ।’ उनले आफू कर्ममा विश्वास गर्ने र कर्म गरेरै रमाइरहेको दृष्टान्त पनि उनले स्मरण गराए ।
हरेक मान्छेलाई सबै कुराको खाँचो हुने चर्चा गर्दै उनले अरुको मात्र राम्रो देखेर आफूलाई दु:खी र कमजोर बनाउन नहुने धारणा व्यक्त गरे । उनले कुलमान घिसिङले उज्यालो दिएकै कारण जहाजबाट नेपालगञ्ज, भैरहवा, पोखरा चिन्न थालिएको चर्चासमेत गरे ।
कार्यक्रममा क्याप्टेन लामासहित कुलमान घिसिङ, डा. भगवान कोइराला र भवानी राणा विशेष वक्ताका रूपमा उपस्थित थिए ।
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS