विजय श्रेष्ठ | उपाध्यक्ष, हिमालय एअरलाइन्स
निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्ने एकमात्र नेपाली कम्पनी हो हिमालय एअरलाइन्स् । हाल चीनको राजधानी बेइजिङका साथै पाँचवटा सहर अनि नेपालको श्रमगन्तव्य मुलुकका विभिन्न विमानस्थलहरूमा उडान गरिरहेको यो एअरलाइन्स् कम्पनी चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्टसँगको ज्वाइन्ट भेञ्चरमा सञ्चालित छ । सन् २०१४ अगष्ट १९ मा स्थापना भएको यो कम्पनीले २०१६ मे ३१ देखि आफ्नो व्यावसायिक उडान सुरु गरेको थियो । करिब यो एक दशकको अवधिमा कम्पनीले प्राकृतिक प्रकोपहरूलगायत विभिन्न उतारचढाव झेलेको छ । तर, कुनै पनि समस्याहरूबाट विचलित नभइ निरन्तर आफ्नो कर्म र उद्देश्यप्राप्तीमा लागिरहेको हिमालय एअरलाइन्स् भविष्यमा १० वटा एयरक्राफ्ट नेपालमा ल्याएर १० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउन चाहान्छ । तर, अहिले एउटा एयरक्राफ्ट किनेर नेपाल ल्याउनुपर्यो भने १३ प्रतिशत भ्याट तिर्नुपर्छ । यसलाई जोखिम मोलेर पुँजी लगानी गरेबापत सरकारलाई ‘पेनाल्टी’ तिर्नुसरह भएको बताउँछन् यस कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठ । यही विषय नेपालको एभिएसनको विकासमा तगारो बनेको समेत उनले बताएका छन् । यस्तो अवस्थामा उड्डयन क्षेत्रमा थप लगानीको सम्भावना र भविष्यलगायत विषयहरूमा केन्द्रित रहेर विस्तृत कुराकानी गरेका छौँ । प्रस्तुत छ, उपाध्यक्ष श्रेष्ठसँग कर्पोरेटका ज्योति जीसीले गरेको कुराकानीको सम्पादित अंश–
मुलुक अहिले आर्थिक समस्याबाट गुज्रिरहेको छ । नेपालमा सञ्चालित अधिकांश व्यापार, व्यवसाय र उद्योगहरू सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेका छन् । यो परिस्थितिमा नेपालको हवाई क्षेत्रको अवस्था कस्तो छ ?
अहिलेको परिस्थितिलाई हामीले बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्दछ । प्रि–कोभिडको लेभल अफ एयर ट्राफिक र सन् २०२३ को इन्टरनेशनल डोमेस्टिक एयर ट्राफिक हेर्ने हो भने हवाई यात्रुको सङ्ख्यामा वृद्धि आइरहेको छ । इन्टरनेशनल एयर ट्रान्सपोर्टेसन एसोसिएशन (आयटा)को प्रोजेक्सन अनुसार कोभिडपछि घाटा भएको भएको इन्टरनेशनल एयर ट्राफिक सन् २०२४ सम्ममा सामान्य अवस्थामा आउँछ भन्ने थियो । नेपालको एभिएसन कम्फर्टेबल स्थितिमा आएको छ । यो एउटा पक्ष हो ।
एभिएसनको फरक–फरक आयामहरू जस्तोः एयरपोर्ट, एयरलाइन्सस, ट्राभल इन्डष्ट्री, कार्गो इन्डष्ट्री, प्यासेञ्जर सोसाइटीलगायत हुन्छन् । अहिले हामीले एयरपोर्टको सवालमा एयरक्राफ्ट र प्यासेञ्जरको मुभमेन्टबाट विमानस्थल प्रत्यक्ष लाभान्वित हुन्छ । विमानस्थलको अर्थव्यवस्थाका सवालमा पनि राम्रो ग्रोथ गरेको मेरो बुझाइ छ । एयरलाइन्सहरूलाई मात्र छुट्याएर हेर्ने हो भने फेरि यसको छुट्टै आयामहरूबाट हामीले हेर्नुपर्ने हुन्छ । उदाहरणका लागि– केही समयअघिदेखि हामीलाइ इनपुट मटिरियल कस्ट अफ फ्लाइट अपरेशन अर्थात् लागतको विषयलाई हेर्ने हो भने एभिएसनको टर्बाइन फ्युलमा मूल्य अत्यधिक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय मार्केटसँग तुलना गर्ने हो भने हामीकहाँ कम्तिमा ६०% र बढीमा शतप्रतिशत महङ्गो छ । विमानको हरेक उडान सञ्चालनका लागि जति खर्च आउँछ त्यसमध्ये फ्युल अर्थात् इन्धन सबैभन्दा महत्वपूर्ण कम्पोनेन्ट हो । यसले ६०% अपरेटिङ कस्ट योगदान गरिरहेको हुन्छ । यसले एयरफेयरलाई प्रत्यक्ष महङ्गो बनाइरहेको छ ।
गत आर्थिक वर्षको बजेटले २०८० देखि २०९० सम्म पर्यटन दशकको घोषणा गरेको छ । त्यसको आधारभूत आवश्यकता इन्टरनेशनल एयरफेयर सस्तो हुनुपर्ने हो । किनभने कोही पनि पर्यटकले आफूसँग भएको खर्चले एयरफेयर, होटेल खर्च, लोकल ट्राभललगायतमा हुने सम्पूर्ण खर्च हिसाब गर्दछन् र कुन देश घुम्न पुग्छ भनेर देश चयन गर्दछन् । यसरी हेर्दा नेपालमा अन्तर्राष्ट्रिय एयरफेयर कस्ट निकै महङ्गो छ । हामीले विदेशबाट उच्च दक्षशक्ति ल्याएर काममा लगाउनुपर्छ । उनीहरूले गर्ने आम्दानीमा ३९% कर लाग्छ । तर, प्रतिस्पर्धी देशहरू दुवई (यूएई), दोहा (कतार) क्वालालम्पुर (मलेसिया) कतिपय ठाउँमा शून्य छन् । जसको आधारमा हेर्ने हो भने हामीकहाँ ३९% ले महङ्गो हुन आउँछ । यसबाट सरकारले निर्धारण गरेको लक्ष्यअनुसार पर्यटक सङ्ख्या भित्र्याउन धेरै चुनौती छ ।
खासगरी नेपाल एयरलाइन्सस (एनएसी) र हिमालय एयरलाइन्सस तुलनात्मक रूपमा बेफाइदामा बसिरहन परेको अवस्था भएकाले एयरलाइन्सको कोणबाट हेर्दा नेपालको एभिएसन त्यति राम्रो नभए पनि ट्राफिक ग्रोथको कोणबाट राम्रो छ । अर्थात् हाम्रो विमानस्थल र विदेशी एयरलाइन्सहरू ठिकठाक छन्, तर हामी स्वदेशका अन्तर्राष्ट्रिय हवाई कम्पनी समस्यामा छौँ । हामीले सन् २०२३ को डेटालाई हेर्ने हो भने एनएसी र हिमालय गरेर २४ प्रतिशत मात्रै बजार हिस्सा हाम्रो छ । एनएसी र हिमालयसँग समान चार/चार वटा जहाज छन् । अहिले हामी घटीमा पनि १०० वटा जहाज भएको विदेशी एयरलाइन्ससँग प्रतिस्पर्धा गरिरहन परेको छ । जस्तोः एयर चाइनासँग प्रतिस्पर्धा गर्नुपर्यो भने उसँग लगभग एक हजार वटा जहाज छ । एनएसीले इन्डिगोसँग प्रतिस्पर्धा गर्ने हो भने ३०० वटा जहाज छ । यसबाट के प्रष्ट छ भने स्केल इकोनमी, उनीहरूको बिजनेश इन्भारोमेन्ट, उनीहरूको सरकारको पोलिसी र एभिएसनले सर्पोट गर्ने कोणबाट एनएसी र हिमालय दुईवटै उडान कम्पनी ‘डिसएड्भान्टेज’मा छ ।
विद्यमान अवस्थामा हिमालय एअरलाइन्स्को अवस्था कस्तो छ ?
हिमालय एअरलाइन्स् एउटा लक्ष्य–परिलक्ष्य बोकेर अगाडि बढेको एयरलाइन्स कम्पनी हो । भविष्यमा १० वटा एयरक्राफ्ट (जहाज) नेपालमा ल्याउने र हामी एउटै एयरलाइन्सले १० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने परिलक्ष्य छ । तर, अहिले एउटा एयरक्राफ्ट किनेर नेपाल ल्याउनुपर्यो भने चालू आर्थिक वर्षको बजेट अनुसार १३ प्रतिशत भ्याट तिर्नुपर्छ । अर्थात् हिमालय वा एनएसीले एउटा जहाज ‘एयरबस ३००’ ल्याउनुपर्यो भने सरकारलाई दुई अर्ब रूपैयाँ बुझाउनुपर्छ । यसलाई हामी के बुझ्दछौँ भने जोखिम मोलेर पुँजी लगानी गरेबापत दुई अर्ब रूपैयाँ सरकारलाई ‘पेनाल्टी’ तिर्नुपर्छ । यो विषय नेपालको एभिएसनको विकासमा तगारो बनेको छ । यद्यपि, आफूले लिएको लक्ष्य (पर्यटक भित्र्याउने) पूरा गर्न हिमालय एयरलाइन्सले चीनमा मात्रै पाँच ठाउँमा उडान गरिरहेको छ ।
अहिले हामीले चीनको राजधानी बेइजिङसहित ल्हासा, छोङछिङ, छिङ्दावा र साङ्घाइमा उडान गरिरहेका छौँ । चीनमा यति धेरै उडान गर्नुको एउटै लक्ष्य भनेको जतिसक्दो धेरै चिनियाँ पर्यटक नेपाल भित्र्याउनु नै हो । साथै, हामीले नेपालको श्रम गन्तव्य मुलुकहरूका विमानस्थल दुवई, दमाम, दोहा, रियाद, क्वालालम्पुर र ढाकामा आफ्नो क्षमता अनुसारको उडान गरिरहेका छौँ । त्यसबाहेक विभिन्न ट्राभल कम्पनीहरूमार्फत अन्य केही गन्तव्यहरूमा चार्टर फ्लाइट पनि गरिरहेका छौँ । यसबाट पनि पर्यटन प्रवद्र्धनमा म्युच्युअल सहकार्य भइरहेको छ । खासगरी पर्यटक भित्र्याउने र नेपाली यात्रुलाई सर्वसुलभ सेवा दिने उद्देश्यले हिमालय एयरलाइन्सले काम गरिरहेको छ ।
तपाइँहरूले ज्वाइन्ट भेन्चरबाट यो व्यवसाय सुरू गर्दा लिनुभएको ‘नेपाली नागरिकसँग अन्य देशका नागरिकको सम्पर्क र राष्ट्रको व्यापार र पर्यटन प्रवद्र्धन गर्ने’ मुख्य उद्देश्यतर्फ कति प्रगति भइरहेको छ ?
प्रगतिको ढोका अहिले बन्द छ । किनभने सरकारले जहाज किन्दा १३% भ्याट लगाएर ‘पनिसमेन्ट’ गरुञ्जेलसम्म हाम्रो लक्ष्य अनुसारको प्रगति हुनेवाला छैन । यो हिमालय एयरलाइन्सको मात्र नभइ नेपाली एयरलाइन्स सबैको समस्या हो । अरु उद्यमीहरू पनि इन्टरनेशनल एयरलाइन्सको काममा इन्टरप्राइज खडा गर्न आउन सक्छन् । नेपालमा एयरलाइन्स कम्पनी खडा गर्ने नेपालीहरूलाई अथवा प्रत्यक्ष वैदेशिक लगानी
(एफडीआई) ज्वयन्ट भेञ्चर कम्पनी (जेभीसी) लाई नेपालमा काम गर्ने वातावरण छैन अनि हामी कसरी अघि बढ्ने, कसरी प्रगति गर्ने ?
नेपालमा किन उड्डयनमैत्री कानुनहरू बन्न सकिरहेका छैनन् ? यहाँको उड्डयन क्षेत्रका समस्या र चुनौतीहरू के–के हुन् ?
राजनीति र कर्मचारीतन्त्रका नेतृत्वहरूको बुझाई र सोचाइ वा बौद्धिकताको लेभल हाम्रो भन्दा धेरै माथि हुन्छ भन्ने हामी सामान्य मान्छेको बुझाइ छ । किनभने उहाँहरूमा अध्ययन हुन्छ, तालिमप्राप्त र क्षमतावान पनि हुनुहुन्छ । त्यसकारण उहाँहरूको क्षमतामा प्रश्न उठाउने ठाउँ छैन । तर, संयोजनमा तालमेल नमिलेको भने पक्कै हो । त्यस्तै, मन्त्रालयहरूमा छिटो–छिटो भइरहने सबै तहका नेतृत्व परिवर्तनका कारण ‘प्रडक्टिभ’ काम गर्ने वातावरण नहुनुले उड्डयनमैत्री कानुनहरू निर्माणमा जटिलता देखिएको हो । राजनीतिक अस्थिरता र कर्मचारीहरूको फेरवदल मुख्य चुनौती र समस्या हो भन्ने मेरो बुझाइ छ । यो प्रवृत्तिले हाम्रो मात्र नभइ सबै क्षेत्रमा समस्या सृजना गरिरहेको देखिन्छ । हाम्रो क्षेत्रमा मात्रै भएका समस्या र चुनौतीहरूबारे त अगाडिको प्रसङ्गमा पनि हामीले चर्चा गरिहाल्यौँ ।
फ्युलमा भएको महङ्गी घटाउन तथा राजनीति र कर्मचारीतन्त्रको अस्थिरतालाई रोक्न के गर्न सकिएला ? यहाँको केही सुझाव छन् कि ?
साङ्केतिक रूपमा भन्नुपर्दा राज्य र नेतृत्वहरूले ‘सुनको चल्ला दिने’ उद्योगहरू प्रवद्र्धन गर्ने नीति लिन जरुरी छ, चरी नै खाने होइन । उद्योगहरू प्रवद्र्धन गरी यसलाई फस्टाउने वातावरण दियौँ भने सरकारले पाउने राजस्व पनि दिगो हुन्थ्यो । तर, सरकारको नीति फ्युलको मूल्य अहिले महङ्गो लिइहालौँ, जहाज किन्दा र एयरफेयरमा भ्याट लगाइहालौँ, अहिले कमाइहालौँ, पछि जे होस् होस् भन्ने खालको छ । यसले नेपालको अर्थतन्त्रलाई समेत हानी पुर्याइरहेको छ ।
मुलुकमा जति पनि हवाई सेवा कम्पनीहरू छन्, ती सबै नेपालीहरूको एकल लगानीमा छन् । तर, हिमालय एयरलाइन्सस नेपालको यती वर्ल्ड इन्भेस्टमेन्ट प्रालिले चिनियाँ हवाई कम्पनी तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनी लिमिटेड (टीसीएडीआईसी– ट्याडिक)सँगको सहकार्यमा सञ्चालित छ । यसरी अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहँदाका फाइदा, बेफाइदा र समस्याहरू के–के हुँदारहेछन् ?
नेपालको उड्डयन इतिहास करिब ७० वर्षको छ । यो लामो इतिहासमा ज्वाइन्ट भेञ्चर कम्पनी नेपालमा लगभग छैन भन्दा पनि हुन्छ । हामी आफैंले यसअघि एयर अरेयिबासँग ज्वाइन्ट भेञ्चर गरेका थियौँ । तर, केही महिना चले पनि त्यो अघि बढ्न सकेन । कतिले त्यस्तो प्रयास गरिरहेका पनि होलान् । तर नेपालमा काम गर्ने वातावरण नभएकै कारण यस्तो प्रयासहरू असफल हुने गरेका छन् । यस्तो अवस्थामा हामीले ट्याडिकसँगको लगानी सहकार्य गरेर हिमालयन एयरलाइन्स सञ्चालन गरिरहेका छौँ । ट्याडिकको नेपाल र नेपाली जनता, यहाँको विकास र सद्भावप्रतिको दृष्टिकोण बढो उच्च तहको रहेका कारण र ट्याडिकप्रति यती वल्र्ड इन्भेस्टमेन्टको भावानात्मक सम्बन्ध र सदासयताका कारुण यो सहकार्य सम्भव भएको हो । एक हिसाबले हेर्ने हो भने यसलाई फाइदाको रूपमा पनि लिन सकिन्छ । बेफाइदाको कुरा गर्नुहुन्छ भने, हिमालय एयरलाइन्स ‘लस बेयरिङ कम्पनी’ हो । त्यसकारण बैंकहरूबाट ऋण लिन पाइँदैन । विदेशी लगानी भित्र्याउन कानुनी बन्देजहरू छन् । ऋण लिन चाहेमा पेरेन्ट कम्पनीहरूबाट लिनुपर्ने बाध्यता छ । यो समस्याले हाम्रो ग्रोथलाई सङ्कुचन गरिरहेको छ ।
उनीहरू विकसित देशका व्यवसायी हुन् । एकल लगानीमा पनि यसप्रकारको सेवा सञ्चालन गर्ने क्षमता उनीहरूमा पर्याप्त हुन सक्थे तर, नेपाली व्यवसायीसँगको ज्वाइन्ट भेञ्चरमा हवाई सेवा सञ्चालन गरेका छन् । यसमा ट्याडिकको उद्देश्यचाहिँ के हो नि ?
ट्याडिक चीनको सरकारी स्वामित्वको कम्पनी हो । नेपाल र चीनबीचको आर्थिक सम्बन्ध तथा जनतासँग जनताको सम्बन्ध सुमधुर हुनुपर्छ भनेर हिमालय एयरलाइन्सको जन्म भएको हो । अझ स्पष्टरूपमा भन्दा नेपालको एभिएसन टुरिजममा चीनको सहयोग बढ्छ भन्ने उद्देश्यका साथ यो कम्पनी खडा गरिएको हो । यती वल्र्ड इन्भेष्टमेन्ट नेपालको उड्डयन पर्यटन हस्पिटालिटी इन्डष्ट्रीमा लिडिङ कम्पनीका रूपमा अगाडि आएको कम्पनी हो । यसबाट के स्पष्ट हुन्छ भने नेपालको पर्यटन प्रवद्र्धन गर्ने र चीन र नेपालको बीचमा जनस्तरको सम्बन्ध विस्तार गरी पर्यटन व्यवसायलगायतको प्रवद्र्धन गर्नु नै हो । ज्वाइन्ट भेञ्चरमा रहेका दुईवटै कम्पनीका यी साझा उद्देश्य हुन् ।
नेपाली व्यवसायीले एकल लगानीमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी सञ्चालन गर्न सक्ने अवस्था छ कि छैन ? हिमालय कहिलेसम्म ज्वाइन्ट भेञ्चरमा चलिरहन्छ ?
उद्यम गर्ने मान्छेले जहिल्यै पनि नयाँ उत्साह र जाँगर लिएर आउँछ । भोलिका दिनमा कोही मान्छे त्यस्तो उत्साह र जाँगर लिए नआउला भन्न सकिँदैन । यो क्षेत्रमा स्कोप देख्ने मान्छेले लगानी गर्ने गुञ्जायस सधैं जीवित रहिरहन्छ । हिमालय एयरलाइन्स आधारभूत रूपमा ज्वाइन्ट भेञ्चर कम्पनी हो र यो यसैगरी अघि बढिरहन्छ ।
अन्तर्राष्ट्रिय हवाई सेवामा स्वदेशी लगानी प्रवर्द्धन गर्न सरकारले कस्तो वातावरण निर्माण गर्नुपर्ला ?
अगाडिका प्रसङ्गहरूमा हामीले चर्चा गरेको भ्याट, फ्युल मूल्य र एयरफेयरलगायत समस्या र चुनौतीका विषयलाई सबैभन्दा पहिला सम्बोधन गर्नुपर्छ । हामीले प्रतिस्पर्धा गर्नुपर्ने देशहरूको तुलनामा हाम्रा उद्योग व्यवसायहरूलाई पनि प्रतिस्पर्धी एड्भान्टेज प्रदान गर्नुपर्दछ । यस विषयमा सबै देशमा एउटै कुरा लागू नहुन पनि सक्छ । सम्बन्धित देशको उद्योगधन्दाले पाएको एड्भान्टेजहरूको आधारमा प्रतिस्पर्धा गर्न सक्नेगरी हामीले आफ्नो नीति निर्धारण गर्नुपर्दछ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले नेपालको आकाशलाई बेला–बेलामा असुरक्षितको सूचीमा राखिरहेको हुन्छ । आकाशै असुरक्षित रहेको देशमा यति ठूलो लगानी गर्दा मनमा कुनै शंसय पैदा भएन ?
सबैभन्दा पहिला नेपालको आकाश सुरक्षित छ । किनभने हाम्रो यो ७० वर्षे इतिहास हेर्ने हो भने सिटी एयरपोर्टहरूको सेफ्टीका आधारमा नेपालको उड्डयन सेफ्टी रेकर्ड धेरै राम्रो छ । पहाडमा हेर्ने हो भने हाम्रो भूगोल, हावापानी, टेरेन्टलगायतसँग अरु देशको पनि यस्तै वातावरण तुलना गर्ने हो भने हाम्रैमा राम्रो भएको विशेषज्ञहरूले बताउँदै आएका छन् । नेपालको एभिएसन सुरक्षा कमजोर हुने हो भने संसारभरिका ठूला–ठूला एयरलाइन्सहरू अझ सेफ्टी धेरै भएका भनिएका एयरलाइन्सहरू नेपालमा रेगुलर फ्लाइट गर्न आउँदैनथे । आईकाओले पहिले त्यस्तो सूचीमा राखेको भए पनि अहिले हामी त्यसबाट मुक्त भइसकेका छौँ, त्यसर्थ हाम्रो आकाश सुरक्षित छ, यो आईकाओले नै भनेको तथ्य हो ।
युरोपिययन युनियनको एभिएसन सेफ्टी लिस्टचाहिँ केही विरोधाभास छ । नेपाली इन्टरनेशनल एयरलाइन्ससँग भएका आठवटै जहाज युरोपमा बनेका हुन् र नेपालमा उडान गर्ने अरु अन्तर्राष्ट्रिय जहाजहरू पनि अधिकांश युरोपमै बनेका हुन् । अन्तबाट नेपालमा आउने सेफ हुने र हाम्रो जहाज असुरक्षित हुने भन्ने कुरा मैले राम्रोसँग बुझ्न सकेको छैन । यदि यहाँ वातावरण सेफ छैन भने जहाज नपठाउनुपथ्र्यो । हिमालय एयरलाइन्स इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसनबाट ग्लोबल सेफ्टी अडिट पास भएको पहिलो कम्पनी हो । त्यसकारण नेपालमा लगानी गर्न एभिएसन सेफ्टीको सवाल होइन ।
हिमालय एयरलाइन्ससको उपस्थितिलाई नेपाल एयरलाइन्ससको व्यापार खोसेको भनेर पनि चर्चा गर्ने गरिएको छ । खासमा तपाइँहरूको उद्देश्यचाहिँ व्यवसाय विस्तार गर्नु हो कि अरुको खोस्नु हो ?
कुनै समयमा अन्तर्राष्ट्रिय उडानमा एनएसीको मार्केट शेयर इन्टरनेशनल एयर ट्राफिकमा ५५% थियो । फेरि हिमालय आउनुभन्दा अगाडि त्यो घटेर ५% मा पनि पुगेको थियो । यो दुईवटा तथ्यलाई हेरेर सबैले बुझ्ने कुरा हो, हिमालयले एनएसीको मार्केट खाँदैन । दुई स्थानीय एयरलाइन्स आपसमा को–अपरेट गर्न मिल्छ । जहाँ २६ वटा विदेशी एयरलाइन्सहरू आइरहेका छन् भने त्यहाँ एउटा कम्पनीले अर्कोको मार्केट शेयर कसरी खान सक्छ ? त्यसमाथि हिमालयको छुट्टै उद्देश्य छ, त्यसबारे हामीले अगाडि चर्चा गरिसक्यौँ ।
इन्टरनेशनल एभिएसन भनेको ‘बाइलाइटर एयर सर्भिस एग्रिमेन्ट’ दुईवटा राष्ट्रको बीचमा गरिएको हुन्छ । त्यसमा कुन देशले कति यात्रु ल्याउने वा लानेबारे कोटा निर्धारण गरिएको हुन्छ । यस्तो कोटा विशेषगरी दुई देशलाई बराबररूपमा भाग लगाइएको हुन्छ । यो विषय आईकाओको इन्टरनेशनल सिभिल एभिएसन अर्गनाइजेशनको महासन्धीले ट्राफिक राइटका आधारमा निर्धारण गरेको हुन्छ । पछिल्लो वर्ष आतेजाते गरेर हामीसँग करिब ४५ लाख यात्रु भए । त्यसमध्ये हिमालय र एनएसी मिलेर जम्मा २४% बोक्यौँ । सैद्धान्तिक रूपमा आधा–आधा भएकाले अझै २६% बोक्ने अधिकार भए पनि हाम्रो क्षमता नभएका कारण बोक्न सकेनौँ । क्षमता र मार्केटको स्पेस फरक–फरक विषय हुन् । त्यसकारण पनि हामी कसैको मोर्केट शेयर खोस्दैनौँ ।
नेपालमा पछिल्लो समय दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनेर अपरेशनमा आइसकेका छन् । तर, उडानको समस्या देखिएर हामी निराश बन्न परिरहेको छ । यी विमानस्थललाई कसरी पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएला ?
हामीले सामान्यतः बुझ्दाखेरि एभिएसन भनेको एउटा व्यापार हो भने विमानस्थल पसल हो । सबै क्षेत्रमा व्यापारको आधारभूत सिद्धान्त लागू हुन्छ । एउटा नयाँ पसल चल्न केही समय लाग्छ, त्यो स्वाभाविक पनि हो । त्यसमा गौतमबुद्ध विमानस्थल पनि एक हो, जो क्रमशः चल्दै जाने देखिएको छ । विमानस्थलका ग्राहक भनेको जहाज र यात्रुहरू हुन् । उनीहरूलाई आउनका लागि सरकारले वातावरण बनाउनुपर्छ । नियमित उडानका लागि सरकारले केही अफर पनि ल्याउन जरुरी देखेको छु । अन्यथा घाटा व्यहोर्न कसैले पनि उडान गर्दैनन् । सरकारले ल्याउने अफर सरकारले जान्ने कुरा हो हामीले भन्ने होइन ।
सरकारले तपाइँहरूलाई सेल्फ ग्राउण्ड ह्यान्डिलिङको जिम्मा दिने भनेर प्रक्रिया चलायो, फेरि रोक्यो, फेरि दियो । अहिलेचाहिँ यो समस्या कहाँ पुगेको छ ?
व्यावसायिक र सेल्फ ग्राउण्ड ह्याण्डलिङमध्ये हामीले सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति सरकारसँग मागेका हौँ । त्यसका लागि हामीले तीन वर्षको प्रक्रिया पुर्याएर सन् २०२० मै अनुमतिपत्र लिइसकेका छौँ । एभिएसन निर्देशिकाले पनि हिमालय एयरलाइन्सले सो सुविधा लिन पाउने स्पष्ट व्यवस्था गरेको छ । तर, हामीले लिएको लाइसेन्सको प्रयोग गर्न नपाउँदै सरकारले हामीलाई त्यो सुविधा दिएन । त्यसविरुद्ध सर्वोच्च अदालतले हामीले पाउनुपर्ने अधिकार सुनिश्चित गरिदिएको छ । त्यसआधारमा हामी आफ्नो सेल्फ ग्राउण्ड ह्याण्डलिङ सर्भिस अगाडि बढाउँछौँ । कमर्सियल ग्राउण्ड ह्याण्डलिङ एनएसीले सुरूदेखि हालसम्म एकाधिकाररूपमै गरिरहेको छ । त्यसमा हाम्रो कुनै गुनासो छैन र रहने पनि छैन । (अन्तर्वार्ता मिति : २०८१ जेठ १)
FACEBOOK COMMENTS