सहकारी इतिहासमै पहिलो पटक विकूद्वारा पिओएस मेसिन शुभारम्भ
जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट मेशिनमार्फत भुक्तानी गर्न सकिने
कर्पोरट खबर
8:45 pm, मंगलबार, भदौ ५, २०८०
नवलपरासी । नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस ९प्वाइन्ट अफ सेल० मेसिन शुभारम्भ गरेको छ ।
उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गर्नुभएको हो । जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए । ३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पिओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको थियो ।
सो पिओएस मेसिन वायरलेस वाइफाइ प्रविधिमा आधारित रहेको उहाँले जानकारी दिनुभयो । यसलाई अन्य व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानमा क्रमैसँग विस्तार गर्दै जाने उहाँको भनाइ छ । ३३औँ वार्षिकोत्सवका अवसरमा विकूले आज अमरापुरीमा कर्मचारीस्तरीय नृत्य प्रतियोगिता, वार्षिकोत्सव विशेष समारोह तथा सम्मान कार्यक्रमसँगै पिओएस मेसिन शुभारम्भ र २४ वटै सेवा केन्द्रमा दीप प्रज्वलन गरेको छ ।
गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री जिसीले आफू विकूको सदस्य रहेका कारण संस्थाबारे जानकार पनि रहेको र यो उत्कृष्ट सहकारीका रूपमा रहेको बताए । सक्षम नेतृत्व, स्पष्ट लक्ष्य र सुशासनका कारण संस्थाले यो खालको उपलब्धि हासिल गर्न सकेको उनको भनाइ थियो । उनले सहकारीका क्षेत्रमा देखिएका समस्यालाई हल गर्दै जाने र सहकारी नियमन एवं नीति निर्माणमा मन्त्रालयको तर्फबाट काम भइरहेको बताए ।
विकूका अध्यक्ष ओमप्रसाद सापकोटाले संस्थाको व्यावसायिक योजनाअनुसार सामाजिक रूपान्तरणका क्षेत्रमा अब विकूले काम गर्ने बताए । यो अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैमा उनले आभार व्यक्त गरे । विसं २०४८ मा स्थापित विकूले हाल २४ वटा सेवा केन्द्रमार्फत चितवन र नवलपरासीका करिब एक लाख ३० हजार सदस्यलाई वित्तीय एवं गैरवित्तीय सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS