म्याग्दी । उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल । पूर्वतर्फ बागलुङको पञ्चकोट। हेर्दाखेरी निकै सुन्दर र मनमोहक लाग्छ– ज्यामरुककोट। खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन्, उमेरले ५० काटेका पाका गाउँले पनि ।
केही वर्ष अघिसम्म म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुन्डे, सानालेख, गौश्वारा र फापरखेतमा सोह्रश्राद्ध नसकिँदै लिङ्गेपिङ हालेर युवा दसैँको तयारी गरिसक्थे । अहिले दसैँको छैटौँ दिन बितिसक्दा पनि गाउँमा न कतै लिङ्गेपिङ, न त युवा नै देखिएका छन् । विद्यालय उमेरका बालबालिका र ५० नाघेका पाका नागरिक आआफ्नो काममा व्यस्त छन् । दसैँको रौनकले गाउँलाई छोएको छैन ।
पाँच सात वर्ष अघिसम्म तीजसँगै दसैँको रौनक सुरु हुन्थ्यो। सोह्रश्राद्ध सकिनेबित्तिकै रातो माटो र सेतो कमेरोले घर लिपपोत गर्ने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने र गोरेटो बाटो सफा गर्ने काममा युवा नै कस्सिन्थे । पछिल्ला केही वर्षयता ज्यामरुककोटमा मात्रै होइन, म्याग्दीमै युवाहरू वैदेशिक रोजगारी र परिवार बसाइँसराइ गरी सहरतिर बस्न थालेपछि गाउँघरमा चाडपर्वको रौनक हराउँदै गएको बेनी नगरपालिका–२ का ६८ वर्षीय डिलबहादुर सापकोटाले बताउनुभयो ।
बेनी–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीका अनुसार गाउँबाट पछिल्लो चार वर्षयता वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने युवा बर्सेनि बढ्दै गएपछि गाउँ युवाविहीन भएको छ ।
एक वर्षमा सरदर ५० देखि ८० जनासम्म युवा वैदेशिक रोजगारीका लागि विदेश जाने गरेका छन्। अध्ययनका लागि जानेको सङ्ख्या पनि उत्तिकै छ। त्यसका साथै बसाइँसराइ गरेर सहर र मधेशतिर जाने पनि बाक्लै छन् । पछिल्लो डेढ वर्षमा २४ घरपरिवारले बसाइँसराइ गरेका छन् ।
पहारिलो घाम लाग्न सुरु भएपछि खेतका फाँटमा धान थन्क्याउने काममा किसान व्यस्त छन्। असोजको अन्तिम साता परेको पानी र चलेको हावाहुरीबाट थन्क्याउने बेलाको धान नासिने पो हो कि भनेर चिन्तित बनेका किसान कात्तिक लागेपछि मौसम घमाइलो बन्दा खेतको फाँटमा व्यस्त हुन थालेका र दसैँको रमाइलोले भन्दा पनि धान भित्र्याउने चटारोले किसान बेफुर्सदिला बनेका सानालेखका नारायण शर्माले बताए ।
कामकाज, उच्च शिक्षा र वैदेशिक रोजगारीका लागि बाहिर रहेकाहरू गाउँ फर्किन थालेका भए पनि कामको चटारोले गर्दा दसैँको रौनक नदेखिएको उनको भनाइ रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS