काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको संसदमा जानकारी गराएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लेखकले विशेष समय लिएर बोल्दै सरकारले पुर्व मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा अध्यागमन र भिजिट भिसा बारेको अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको जानकारी दिएका हुन् ।
समितिलाई तीन महिनाको समय दिएर नीतिगत सुधार र कानुनी संरचना गर्न सुझाव दिने गृहमन्त्री लेखकले जानकारी दिए । यस समितिले विगत देखिकै समस्याको अध्ययन गर्ने बताए ।
साथै गृहमन्त्री लेखकले यो समितिले अहिले अख्तियारले गरेको छानबिनमा कुनै असर नपर्ने गरि अध्ययन गर्ने बताए ।
उनले संसदमा सांसदहरुले उठाएका सबै भावनालाई समेटेर समितिको गठन गरिएको र यसले दिने सुझावका आधारमा सरकार अगाडी बढ्ने जानकारी दिए ।
समितिमा बैरागीको संयोजकत्व गठित छानबिन समितिको सदस्यमा अर्थ मन्त्रालयका सहसचिव तिर्थराज चिलवाल, कानुन मन्त्रालयकी सह सचिव अरुणा जोशी, पर्यटन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम मन्त्रालयका सहसचिव प्रदीप कोइराला र सदस्य सचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।
FACEBOOK COMMENTS