काठमाडौं । नेपाली युवाहरूलाई विदेश पठाउने बहानामा हुने गरेको ठगीमा राज्य संयन्त्र नै प्रयोग भइरहेको तथ्य एकपछि अर्को गर्दै सार्वजनिक भइरहेको छ ।
नेपाली नागरिकलाई अमेरिका पठाउने बहानामा नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ रुपैयाँ असुल गरिएको घटनाले देशकै साख गिराएको थियो । उच्चपदस्थ सरकारी अधिकारीदेखि राजनीतिक दलका शीर्षस्थ नेतासम्मको संलग्नता पाइएको उक्त घटना सेलाउन नपाउँदै सरकारी संयन्त्रको दुरुपयोग गरेर सेटिङमा भिजिट भिसामार्फत मानव तस्करी हुने गरेको विषय अहिले चर्चामा छ ।
यस घटनाबारे विगतमै पनि अनुसन्धान भएको थियो । त्यतिबेला पनि घटनामा संलग्नताको आरोपमा अध्यागमनका केही कर्मचारी पक्राउ परेका थिए । तर, तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा अनुसन्धान रोकिएको त्यसताका अनुसन्धानको नेतृत्व गरेका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पन्थी (हाल अवकाश) ले खुलासा गरेका छन् ।
भिजिट भिसामार्फत हुने गरेको मानव तस्करीमा गृह प्रशासन नै संलग्न रहेको आरोप लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराई पक्राउ परेसँगै यस घटनामा नयाँ–नयाँ तथ्यहरू खुलिरहेका छन् । भट्टराईले दिएको बयानपछि यो घटनाले झनै ठूलो रूप लिएको छ । उनले यो कार्यमा बहालावाला गृहमन्त्री रमेश लेखकलाई समेत मुछेका छन् । भट्टराईले दैनिक ५० लाख रुपैयाँ गृह मन्त्रालयमा बुझाउने गरेको बयान अख्तियारलाई दिएपछि यसले खैलाबैला मच्चाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सहसचिव भट्टराईलाई जेठ ७ गते नियन्त्रणमा लिएको थियो । अख्तियारले भट्टराईको मोबाइल र ल्यापटसहितका उपकरणहरूसमेत जफत गरेर अनुसन्धान गरिरहेको छ । अख्तियारले विमानस्थल अध्यागमन कार्यालयमा छापासमेत मारेको थियो । भट्टराईपछि अध्यागमनका थप आठ जना कर्मचारीहरूलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ ।
स्मरणीय छ, घटनाबारे पोल खुल्ने सुइँको पाएपछि हतारहतार पक्राउ पर्नु एक दिनअघि मात्रै भट्टराईलाई अध्यागमनबाट गृह मन्त्रालयमा तानिएको थियो । रमाना लिन बाँकी छँदै अख्तियारको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
गृहमन्त्रीको राजीनामा माग
घटनामा गृह प्रशासनकै संलग्नता रहेको आरोपपछि गृहमन्त्री लेखकको राजीनामा माग्न थालिएको छ । राजनीतिक वृत्तमा शालीन नेताको छवि बनाएका लेखकले वास्तविकतामा दोहोरो चरित्र देखाएको भन्दै सार्वजनिक वृत्तमा उनको चर्को आलोचनासमेत भइरहेको छ ।
सत्तारूढ नेपाली कांग्रेसभित्रै पनि उनको राजीनामा माग हुन थालेको छ । कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई राजीनामा दिएर अनुसन्धानमा सघाउन सुझाव दिएका हुन् । यस्तै, विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि उनको राजीनामा मागेको छ ।
तर, गृहमन्त्री लेखकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । उनले हिजो शनिबार धनुषामा पार्टीका स्थानीय नेता–कार्यकर्तासँगको छलफलमा घटनाबारे ठीक ढङ्गले अनुसन्धान हुने र आफूले गलत गरेको देखिए राजनीतिमै देखा नपर्ने समेत बताएका छन् ।
लगत्तै हिजै साँझ गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर घटनामा गृह मन्त्रालय संलग्न नरहेको दाबी गर्दै अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।
देशै छाड्न चाहन्छन् युवा, ठगी गर्दै पठाउँदै राज्य
नेपाल अतिकम विकसित देश हो । इतिहासमा नेपालभन्दा कमजोर रहेका कतिपय देशहरू अहिले विश्वका शक्तिशाली राष्ट्र बनिसकेका छन् भने कतिपय त्यस दिशातर्फ उन्मुख छन् । तर, नेपालको अवस्था भने झन्–झन् बिग्रँदो छ । यसका प्रमुख कारण देशमा व्याप्त भ्रष्टाचार र बेथिति–विसङ्गति नै हुन् ।
अर्कातिर, देश आर्थिक सङ्कुचनमा छ । सार्वजनिक ऋणको ग्राफ बर्सेनि उकालोलाग्दो छ । बेरोजगारी समस्या व्यापक छ । कथमकदाचित रोजगार नै पाइहाले पनि श्रमको उचित मूल्य छैन । लगानी गरेर केही गर्न पुँजीको समस्या त बेग्लै पाटो भइहाल्यो, गरेकै लगानीको समेत सुरक्षाको ग्यारेन्टी नहुँदा थप चुनौती छ । त्यसैले आम सर्वसाधारणका साथै क्षमतावान् युवाहरूसमेत विदेश पलायन भइरहेको बिडम्बनापूर्ण स्थिति छ ।
भिजिट भिसा प्रकरणअघि सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी प्रकरणले युवाहरू सधैँका लागि देश नै त्यागेर अर्कै देशको नागरिक बन्न समेत तयार रहेको कहालीलाग्दो तथ्यले नागरिकहरूमा रहेको चरम निराशाको उजागर गर्छ । र, राज्यले आमनागरिकमा आशाको सञ्चार गरेर देशमै केही गर्न सक्ने वातावरण निर्माण गर्नुको सट्टा विदेश पलायन गराउने प्रक्रियामा आफैँ संलग्न भएर ठगी गर्नेसम्मको अवस्थाले त झनै सिङ्गो राज्यव्यवस्थामाथि नै गम्भीर प्रश्न खडा भएको छ ।
FACEBOOK COMMENTS