काठमाडौं । पछिल्लो समय भिजिट भिसा प्रकरणले देशको राजनीतिक माहोल गरमागरम बनेको छ । साधारण नेपालहरूमाथि ठगीधन्दा चलाएर ऐसआरामको जीवन बाँचिरहेकाहरूको सञ्जाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भत्काइदिएपछि संलग्न कर्मचारीहरूको रुवाबासी चलेको छ भने त्यसैका कारण मुलुकको राजनीतिक माहोल पनि गर्माएको हो ।
खासगरी सामान्य लेखपढसमेत गर्न नजान्ने महिलाहरूलाई भिजिट भिसामार्फत खाडीलगायत जोखिमयुक्त देशमा जान अनुमति दिने गरेको सूचना पाएपछि अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा विशेष अपरेशन चलाएको थियो । त्यही अपरेशनका कारण अहिले विमानस्थल अध्यागमन कार्यालयका प्रमुखसमेत रहेका सहसचिव तीर्थ भट्टराई अख्तियारको नियन्त्रणमा छन् । उनले गृहमन्त्री रमेश लेखकसमेत यो प्रकरणमा संलग्न रहेको बयान दिएपछि मुलुकको राजनीतिक माहोल तातिरहेको छ भने उनको राजीनामा माग गर्दै जेठ १३ गतेदेखि संसदसमेत अवरुद्ध हुँदै आएको छ ।
मोटो रकम लिएर संगठित रूपमै भिजिट भिसामा विदेश जाने अनुमति दिइरहेको सूचनापछि अख्तियारले जेठ ५ गतेदेखि नै अध्यागमनका तत्कालीन प्रमुख तीर्थ भट्टराईको गतिविधिमाथि निगरानी बढाउँदै ‘कोभर्ट अपरेशन’ चलाएको थियो । खासगरी ठगी गरेको रकम बाँडफाँटका लागि उनीहरूले सञ्चालन गर्दै आएको गोप्य सफ्टवेयरसहित नियन्त्रणमा लिने गरी अख्तियारले उक्त अपरेशन चलाएको थियो । तर, अपरेशनबारे सूचना चुहिएर गृह मन्त्रालय पुगेका कारण सो योजना असफल भएको अख्तियारका अधिकारीहरू बताउँछन् ।
तीर्थराज भट्टराईमाथि अख्तियारले निगरानी बढाएको सुइँको गृह मन्त्रालयले पाएपछि गृहमन्त्री रमेश लेखकले तत्काल उनलाई मन्त्रालय तानेर पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई प्रमुख अध्यागमन अधिकृतका रूपमा पठाउने निर्णय गरे । सोही कारण सफ्टवेयरसहित तीर्थराजलाई नियन्त्रणमा लिने अख्तियारको योजना असफल भयो । ‘सूचना चुहिएकै कारण सफ्टवेयरसहित समात्ने योजना सफल हुन सकेन,’ अख्तियार स्रोतले भन्यो, ‘यद्यपि, अरू कर्मचारीहरूसँग गरिएको सोधपुछका क्रममा त्यसबारे केही तथ्य भने हामीले फेला पारिसकेका छौँ ।’
अख्तियार स्रोतका अनुसार अख्तियारलाई भिजिट भिसाका नाममा भइरहेको असुलीबारे प्रारम्भिक सूचना आएकै बेला सफ्टवेयरबारे पनि सूचना प्राप्त भएको थियो । त्यही हिसाबमा रङ्गेहात समात्ने उद्देश्यसहित अख्तियारको टोली जेठ ५ गतेदेखि नै ‘कोभर्ट अपरेशन’ मा खटिएको थियो । तर, अख्तियारले विमानस्थलमा गोप्य छानबिन सुरू गरेको तेस्रो दिन यससम्बन्धी सूचना गृह प्रशासनसम्म पुग्यो । त्यसलगत्तै गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईको आकस्मिक सरुवा गरेका थिए ।
अख्तियारका एक अधिकारीका अनुसार दैनिक ४०० जनासम्मलाई भिजिट भिसामा पठाएर प्रतिव्यक्ति २० हजारदेखि ४० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको उजुरीसमेत अख्तियारमा परेको छ । त्यस उजुरीलाई आधार मानेर पनि भट्टराईमाथि अनुसन्धान भइरहेको छ ।
डिस्को, दोहोरी र बैंककसम्मै मस्ती
दैनिक रूपमै झण्डै एक करोड रुपैयाँसम्म पैसा असुल गर्ने संयन्त्र निर्माण गरेपछि अध्यागमनका कर्मचारीहरूको दैनिक जीवनशैली नै फेरिएको थियो । दिनभर कार्यालयमा काम गरेपछि त्यहाँका पुरुष कर्मचारीहरू साँझ नपर्दै काठमाडौंका महङ्गा डिस्को र दोहोरीसाँझमा छिरिहाल्थे भने महिला कर्मचारीहरू महङ्गा–महङ्गा ब्युटीपार्लर र बुटिकमा छिर्थे । मासिक तनाखाले दैनिक गुजारा चलाउनसमेत हम्मे–हम्मे पर्ने उनीहरूको जीवनशैली एकाएक परिवर्तन भएपछि उनीहरूका छरछिमेकहरू अचम्भित थिए ।
भिजिट भिसाबापत असुल गरिएको रकम गृह प्रशासनदेखि प्रहरी प्रशासनसम्मै रेलो बनेको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । अधिकृतकहरूका अनुसार अध्यागमन कर्मचारीहरूको यो मस्ती नेपालमा मात्र सीमित नभई सुरासुन्दरीहरूको खोजी गर्दै थाइल्याण्डलगायत विभिन्न देशसम्म फैलिएको थियो । अध्यागमनका कर्मचारीहरूले आफू मात्र नभई गृह मन्त्रालयका सचिवहरूलाई समेत घुमाउन भन्दै बैंकक लैजाने गर्दथे ।
भिजिट भिसा प्रकरणसम्बन्धी यी सामग्रीहरू पनि पढ्नुहोस्–
मानव तस्कर ‘आरोपित’ गृहमन्त्रीलाई प्रधानमन्त्रीको ‘आशीवार्द’ !
FACEBOOK COMMENTS