काठमाडौं । मानव तस्करको जालमा परेर खाडी मुलुक पुर्याइएका नेपाली महिलाहरूलाई जोखिमपूर्ण काममा लगाइने गरेको विषय नौलो होइन । घटनाक्रमले यसलाई पटक–पटक पुष्टि गर्दै आएको छ । र, यो महिला मात्र नभई पुरुषको हकमा पनि हुँदै आएको छ । नेपाली नागरिकलाई तस्करी गरेर खाडी मुलुक पुर्याउने र त्यहाँ उनीहरूको श्रमशोषण गरिनाका साथै बन्धक बनाएर शारीरिक तथा मानसिक यातानासमेत दिने गरिएको छ ।
खासगरी महिलाको हकमा श्रमशोषण र यौनशोषण गर्ने तथा शारीरिक र मानसिक यातना दिने गरिएको छ । हाल नेपालको सडकदेखि सदनसम्म चर्चित ‘भिजिट भिसामार्फत हुने गरेको मानव तस्करी’ मा पनि सोही प्रकृतिको घटना हुने गरेको पाइएको छ ।
भिजिट भिसाको सेटिङमा धेरैजसो महिलाहरूलाई साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान र इराकसम्म पुर्याउने गरिएको छ । ती मुलुकहरूमा पुर्याएपछि उनीहरूलाई देहव्यापारलगायत यौनजन्य क्रियाकलापमा जबरजस्ती संलग्न गराउने गरिएको स्रोतको दाबी छ ।
विगतमा दक्षिणी छिमेकी देश भारततर्फ हुने गरेको नेपाली चेलीबेटीको बेचबिखन पछिल्लो समय खाडी मुलुकतिर सरेको छ । दलाल र अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामार्फत रकम उठाएर उनीहरूलाई खाडी मुलुक तस्करी गर्ने गरेका छन् । स्रोतका अनुसार यस्ता दलालहरू अहिले राम्रा–राम्रा युवतीहरू खोज्न नेपालको मुख्य सहरी क्षेत्रका स्पा, ब्युटीपार्लर र रेष्टुरेन्टहरू छिर्ने गरेका छन् । दलालहरूले महिलाहरूलाई राम्रो कामको प्रलोभन देखाएर विदेश पुर्याउने र बेचबिखन गर्ने गरेको पाइएको छ ।
भिजिट भिसामा दुबईमा काम गर्न गएकी उषा (नाम परिवर्तित) ले भनिन्, ‘काम त यहाँ बहाना मात्र हो, साहुजीकहाँ पाहुना भएर आउने शेखहरूलाई खुसी पार्नुपर्ने हामीलाई बाध्यता छ । धेरै महिला साथीहरूले यस्तो नियति बेहोर्नु परिरहेको छ । पैसाको लोभमा शारीरिक शोषणका यस्ता घटनाहरू बाहिर आउन सकिरहेका छैनन्, तैँ चुप मै चुपको अवस्था छ ।’
पछिल्लो समय राज्य संयन्त्रकै दुरुपयोग गरेर नेपाली युवायुवतीबाट रकम असुल गरी उनीहरूलाई ‘सेटिङ’ मा भिजिट भिसामार्फत विदेश पठाउने कार्य हुँदै आएको छ । यसमा गृह मन्त्रालयसमेतको संलग्नता रहेको गम्भीर आरोप लागेको छ । मानव तस्करीजस्तो गम्भीर अपराधमा राज्यका उच्चपदस्थ व्यक्तिहरू नै संलग्न हुने गरेको पाइएपछि यसले हङ्गामा मच्चाएको छ । यही विषयलाई लिएर विपक्षी दलहरूले गत जेठ १३ गतेदेखि संसद अवरोध गर्दै आएका छन् ।
घटनामा संलग्नताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो । सहसचिव भट्टराईले भिजिट भिसाको सेटिङ मिलाउन दैनिक ५० लाख रुपैयाँ गृह मन्त्रालयमा बुझाउने गरेको बयान अख्तियारलाई दिएपछि सिङ्गो देश तरङ्गित छ । यो खुलासापछि गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी) ले संसद अवरोध गर्दै आएका थिए ।
तर, एक महिनाभित्र छानबिन समिति गठन गर्नेलगायत विषयमा सरकारसँग दुईबुँदे सहमति भएको भन्दै माओवादी केन्द्र तत्काललाई संसद अवरोधबाट ब्याक भएको छ भने एकीकृत समाजवादीले पनि माओवादी केन्द्रकै लयमा संसद अवरोध गर्न छाडेको छ । यद्यपि, रास्वपा र राप्रपाले भने अडान कायम राख्दै निरन्तर संसद अवरोध गरिरहेका छन् । तर, उनीहरूको अवरोधकै बीच पछिल्लो दुई दिनयता सभामुखले संसदको कारबाही अगाडि बढाइरहेका छन् ।
स्मरणीय छ, गत नोभेम्बर २६ र २७ मा मानव अधिकारवादी सङ्घ–संस्था तथा युनियनहरू सम्मिलित खाडी तथा एसियाली मुलुकहरूका श्रममन्त्रीस्तरीय बैठकले श्रमिक संरक्षणसम्बन्धी कानुन र दुर्व्यवहारपूर्ण अध्यागमन नीतिमा सुधार गर्नुपर्ने तथा मजदुर सङ्गठनहरू र गैरसरकारी सङ्घ–संस्थाहरूसँग सम्बन्ध बढाउनुपर्ने निष्कर्ष निकालेको थियो । खाडी मुलुकमा कार्यरत करिब दुई लाख ४० हजार घरेलु कामदारहरूलगायत एसिया र अफ्रिकामा करारमा कार्यरत लाखौँ श्रमिकहरूले बिनाज्याला काम गर्नुपर्ने, राहदानी खोसिने, शारीरिक दुर्व्यवहार सहनुपर्ने तथा जबर्जस्ती श्रम गर्नुपर्ने जस्ता विभिन्न अनुचित व्यवहारहरू सहनु परिरहेको तथ्य उजागर गरेको थियो ।
वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन र ओसारपसारको धन्दा चलिरहेकोबारे सरकारी निकाय बेखबर रहने कुरै भएन । तर, पनि विभिन्न स्वरूप र शैलीमा मानव तस्करीको क्रम रोकिएको छैन, बरु बढ्दै गएको छ । अर्कातिर, यस्तो कार्यमा राज्य संयन्त्र स्वयम् संलग्न रहेको आरोपले झनै गम्भीर र चिन्ताजनक अवस्था सिर्जना भएको छ ।
भिजिट भिसामा मानव तस्करीसम्बन्धी यी समाचारहरू पनि पढ्नुहोस्–
भिजिट भिसाबाट असुलेको पैसाले काठमाडौंका क्लब र दोहोरीसाँझदेखि विदेशसम्मै मस्ती !
मानव तस्कर ‘आरोपित’ गृहमन्त्रीलाई प्रधानमन्त्रीको ‘आशीवार्द’ !
FACEBOOK COMMENTS