काठमाडौं । भिट्सिला फुड्स एन्ड वेभरेजेज प्रालिले हिमालयन शिलाजित मिसिएको ऊर्जा पेय ‘भिट्सिला’ आगामी साउन १८ गतेदेखि नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले बिहीबार पत्रकार सम्मेलनमार्फत नयाँ उत्पादन सार्वजनिक गर्न लागेको जानकारी दिएको हो । कम्पनीका अनुसार ‘भिट्सिला’ हिमालयन शिलाजितलाई आधुनिक पेय प्रविधिसँग संयोजन गरी तयार गरिएको ऊर्जा पेय हो । यसको सूत्र विकास बेलायतमा गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो अध्ययन तथा उपलब्ध व्यावसायिक जानकारीका आधारमा ‘भिट्सिला’ नेपालमा व्यावसायिक रूपमा उत्पादन भई बजारमा आउने पहिलो शिलाजित मिसिएको ऊर्जा पेय भएको दाबी गरेको छ । यस्तै, अन्य मुलुकमा पनि सरकारी स्वीकृतिसहित यस्ता उत्पादन व्यावसायिक रूपमा सार्वजनिक भएको आधिकारिक जानकारी हालसम्म प्राप्त नभएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार पेयमा प्रयोग गरिएको हिमालयन शिलाजित गुणस्तर परीक्षण तथा शुद्धीकरण प्रक्रिया पूरा गरिएको हो । आयुर्वेदमा शिलाजितलाई ऊर्जा, स्फूर्ति र समग्र स्वास्थ्यका लागि उपयोगी प्राकृतिक पदार्थका रूपमा वर्णन गरिएको उल्लेख गरिएको छ ।
भिट्सिला फुड्स एन्ड वेभरेजेज प्रालिका संस्थापक नरेन्द्रबहादुर चन्द, विवेक सिटौला र कवीन्द्र प्रसाईं हुन् । कम्पनीको अन्तर्राष्ट्रिय साझेदारका रूपमा बेलायतस्थित भिट्सिला यूके लिमिटेड की संस्थापक तथा सहस्वामित्वकर्ता डा. हना अल्बन्ना आबद्ध रहेकी छन् ।
कम्पनीले बेलायतमा कम्पनी दर्ता गरिसकेको र आगामी तीन महिनाभित्र त्यहीँ उत्पादन सुरु गर्ने तयारी रहेको जनाएको छ । प्रारम्भिक चरणमा नेपालसँगै बेलायत, अमेरिका, युरोपेली मुलुक र मध्यपूर्वका बजारलाई लक्षित गरी उत्पादन विस्तार गर्ने योजना रहेको कम्पनीको भनाइ छ ।
साथै, भविष्यमा हिमालयन शिलाजितमा आधारित अन्य स्वास्थ्यवद्र्धक पेय पदार्थ पनि विकास गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।