काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ ।
आज विहान १२ बजे मतदान शुरु भएर केही समयमै हल्ला भएपछि रोकिएको मतदान प्रक्रिया अहिले फेरि शुरु भएको हाे ।
‘गैर मतदाता र बाहिरका व्यक्तिले हल्ला गरेपछि केहीबेर मतदान प्रक्रिया प्रभावित भएको थियो । अहिले शान्तिपूर्ण रुपमा चलिरहेको छ’, निर्वाचन अधिकृत रमणकुमार कर्णले भने ।
निर्वाचनले आगामी तीन वर्षका लागि वरिष्ठ उपाध्यक्षसहित कार्यकालका लागि नयाँ नेतृत्व चुँनिदैछ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्व सम्हाने छन् भने वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच त्रिपक्षीय प्रतिष्पर्धा भइरहेको छ ।
संघई प्यानलबाट जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ रहेका छन् ।
अञ्जन श्रेष्ठ प्यानलमा वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान र जिल्ला नगर उपाध्यक्षमा अरुणराज सुमार्गी उम्मेदवार छन् साथै उमेशलाल श्रेष्ठको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार र एसोशिएटतर्फको उपाध्यक्षमा भने अञ्जन श्रेष्ठ प्यानल र उमेशलाल श्रेष्ठ प्यानलबाट संयुक्त उम्मेदवारका रुपमा भरतराज आचार्य चनावी मैदानमा उत्रिएका छन् ।
महासंघ कार्यकारिणी समितिमा प्रत्येक प्रदेशबाट एक–एक जना सदस्य रहन्छन् ।
जसका लागि कोशी प्रदेश सदस्यमा टङ्कप्रसाद दुलाल, नरेन्द्र कुमार खड्का र तारानाथ घिमिरेले उम्मेदवारी दिनुभएको छ ।
मधेश प्रदेश सदस्यका लागि विजय कुमार साह र अरुणकुमार प्रधानको उम्मेदवारीपरेको छ ।
साथै बागमती प्रदेशबाट कृष्णप्रसाद अवाल र सबिन श्रेष्ठले उम्मेदवारी दिनुभएको छ भने गण्डकी प्रदेशबाट जीवनज्योति श्रेष्ठ र युवराज राजभण्डारीको उम्मेदवारी परेको छ ।
लुम्बिनी प्रदेशबाट जम्शेर मियाँको एकल, कर्णाली प्रदेशबाट लालिमान बुढा, धनबहादुर रावत क्षेत्री र कुलबहादुर विश्वकर्मा तथा सुदूरपश्चिम प्रदेशबाट रामबहादुर भण्डारी र जंगबहादुर मल्लको उम्मेदवारी छ ।
संस्थापक सदस्य समूहतर्फ भीष्मप्रसाद न्यौपाने र टिकाराज ढकालको उम्मेदवारी छ । उनीहरुमध्ये एकजना निर्वाचित हुनेछन्। वस्तुगत संघतर्फको सदस्यमा २८ जनाको उम्मेदवारी परेकामा १४ जना निर्वाचित हुनेछन् । त्यस्तै जिल्ला नगर संघ सदस्यमा ३२ जनाको उम्मेदवारी परेको छ । जसमा १८ जना निर्वाचित हुनेछन् ।
एशोसिएट सदस्यतर्फ १९ जना सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ । द्विराष्ट्रिय उद्योग वाणिज्य सङ्घ सदस्यतर्फ सुनिल केसीको एकल उम्मेदवारी परेको छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षको उम्मेदवार निर्वाचित हुने ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने भएकाले कुनै उम्मेदवार पहिलो चरणमा निर्वाचित हुन नसकेका दोस्रो चरणका लागि भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म फेरि मतदान हुनेछ ।
महासंघकाअनुसार जिल्ला नगर समूह र वस्तुगत संघ समूहका लागि एउटा–एउटा मतदान केन्द्र तोकिएको छ भने एशोसिएटतर्फ तीनवटा मतदान केन्द्र तोकिएका छन् ।
जिल्ला नगर समूहका सबै पदका लागि रातो रङको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रङको मतपत्र र एशोसिएट समूहका सबै पदका लागि सेतो रङको मतपत्र बनाइएको छ ।
प्रदेश सदस्य र संस्थापक समूह सदस्य पदको मतपत्र पहेलो रङको छ । अहिले मतदान प्रकृया चलिरहेकाे छ ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार दिउँसो साढे १ बजेसम्म जिल्ला नगरतर्फ ४० प्रतिशत, बस्तुगततर्फ ७५ प्रतिशत र एसोसिएटतर्फ ३० प्रतिशत मत खसेकाे छ।
FACEBOOK COMMENTS