पोखरा । राष्ट्रिय युवा सङ्घ नेपालको पोखरामा जारी १०औँ महाधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ । सर्वसम्मत कार्यसमिति चयन गर्ने प्रयास असफल भएपछि आज मतदान भइरहेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै अध्यक्ष दोहोर्याउन चाहेको भए पनि वर्तमान महासचिव सुमन पुरीले दाबी नछोडेपछि मतदान निर्वाचन भएको हो ।
वर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी दुवै जना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन । थेबेले आफ्नो नेतृत्वमा उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहको उम्मेदवारी दर्ता गराएका छन् भने महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही उम्मेदवार छन ।
त्यस्तै, थेबे प्यानलबाट खुला सचिवमा मदन भण्डारी र देबु बस्नेत, महिला सचिवमा निशा लिम्बू र मधेसी सचिवमा मोबिन आलमको उम्मेदवारी छ । वर्तमान महासचिवसमेत रहेका पुरीले आफ्नो प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मालाई उम्मेदवार बनाएका छन् । त्यसैगरी, सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेसीतर्फ चितरञ्जन यादव उम्मेदवार बनेका छन् ।
खुल्ला सचिवालय सदस्यमा पाँच महिलासहित १६ सदस्य रहने व्यवस्था छ । त्यस्तै, कोशी प्रदेशमा १४ खुल्ला सदस्य र ७ महिला गरी २१ सदस्य, मधेसमा ८ जिल्ला समेट्ने गरी ८ खुल्ला र ५ महिला गरी १३ सदस्य, बागमती प्रदेशमा १३ जिल्ला समेट्न १३ खुल्ला र ७ महिला गरी २० सदस्य, गण्डकीमा ११ जिल्लालाई समेट्न ११ खुल्ला र ६ महिला गरी १७ सदस्य, लुम्बिनीमा १२ जिल्ला समेट्ने गरी १२ खुल्ला र ६ महिला गरी १८ सदस्य रहने व्यवस्था छ । त्यस्तै, कर्णाली प्रदेशको १० जिल्ला समेट्न १० खुल्ला र ५ महिला गरी १५ तथा सुदूरपश्चिममा ९ जिल्ला समेट्ने ९ खुल्ला र ५ महिला गरी १४ सदस्य रहने छन् ।
अन्तरजिल्ला विशेष प्रदेशमा ५ खुल्ला र ३ महिला गरी ८ सदस्य रहने व्यवस्था छ । अधिवेशनमा झन्डै १८ सय ३८ सदस्य मतदानमा सहभागिता जनाउने छन् ।
FACEBOOK COMMENTS