काठमाडौँ । जापानमा प्रधानमन्त्री साने ताकाइचीले आकस्मिक रूपमा घोषणा गरेको संसदीय निर्वाचनमा मतदानमा सहभागी भएका छन् ।
देशभर भइरहेको भिषण हिमपातलाई बेवास्ता गर्दै नागरिकहरू मतदानमा सहभागी भइरहेको एनएचकेले उल्लेख गरेको छ ।
जापानमा ३६ वर्षयताकै पहिलो मध्य–जाडोमा निर्वाचन भईरहेको छ । यस चुनावमा सर्वेक्षणहरूले ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र जापान इन्नोभेसन पार्टीको गठबन्धनले तल्लो सदनका ४६५ सिटमध्ये करिब ३०० सिट जित्न अनुमान गरिएको छ ।
दलको नेतृत्वमा आएसंगै ताकाइचीले जनमत लिन चुनावको घोषणा गरेकी थिइन् । भ्रष्टाचार काण्ड र बढ्दो महँगीका कारण कमजोर बनेको एलडिपीका लागि यो चुनाव पुनरुत्थानको अवसर मानिएको छ । कर छुट र अनुदानको वाचाले लोकप्रिय बनेकी ताकाइचीको सरकारको स्वीकृति दर ७० प्रतिशतभन्दा माथि रहेको छ । अहिले जापानमा मतदाताबीच ताकाइची मेनिया भएको विश्लेषण गरिएको छ ।
तर भारी हिमपातका कारण कैयौं स्थानमा मतदान प्रभावित भएको बताइएको छ । प्रारम्भिक मतदान संख्या २०२४ को चुनावभन्दा २.५ प्रतिशत कम रहेको छ । निइगाता लगायतका क्षेत्रमा रेल, फेरी र उडान सेवा प्रभावित भएका छन्, टोकियोमै पनि दुर्लभ हिमपात परेको छ ।

सामाजिक सञ्जालमा अत्यन्त लोकप्रिय ताकाइचीको व्यक्तिगत लोकप्रियताले एलडिपीलाई फाइदा पुग्ने अनुमान गरिए पनि, खर्चमुखी नीति, भ्रष्टाचारको छायाँ र चीनसँगको तनावजस्ता विषयले चुनौती थपिएको बताइएको छ ।

FACEBOOK COMMENTS