काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेटले सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिइएको र केही थप गरेर गरिबी न्यूनीकरणका कार्यक्रम अगाडि बढाउँदै मध्यमवर्गमा स्तरोन्नति गर्न लागिएको बताएका छन् ।
आगामी आवको बजेटपछि अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताए । कार्यक्रममा मन्त्री वाग्लेले सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा लाग्ने कर नै अन्तिम कर हुने दाबी गरे ।
सेयर लगानीकर्ताबीच करसम्बन्धी देखिएको अन्योल हटाउन सरकारले यस विषयमा स्पष्ट व्यवस्था गरेको उनको भनाइ छ । पुँजीगत लाभकरका बारेमा केही पक्षले अनावश्यक रूपमा भ्रम फैलाएको दाबी गर्दै उनले गलत व्याख्या नगर्न आग्रह गरे ।
“सेयर कारोबारबाहेक अन्य व्यवसाय वा आम्दानीका स्रोत भएका व्यक्तिले सम्बन्धित कारोबारअनुसार कर तिर्नुपर्ने भए पनि सेयर कारोबारबाट प्राप्त लाभमा भने पुँजीगत लाभकर नै अन्तिम कर हुनेछ”, उनले भने । करमाथि कर लाग्ने भन्ने कुरा नहुने स्पष्ट पार्दै उनले कार्यान्वयनका क्रममा कतै गल्ती भएको रहेछ भने सच्याउन तयार रहेको बताए ।
अर्थमन्त्री वाग्लेले सरकारले प्रस्तुत गरेकोे बजेट कार्यान्वयनमा शङ्का नगर्न पटकपटक आग्रह गरे । उनले अहिले नै नतिजा खोज्नुभन्दा सरकारलाई ‘शङ्काको सुविधा’ दिनसमेत आग्रह गरे ।
