काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले बजेट निर्माण गर्दा नेपाली कांग्रेसको घोषणापत्र पढेर त्यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन्।
सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि भइरहेको सोमबारको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले अर्थमनत्री आग्रह गरेका हुन्।
आफूले पनि सो घोषणापत्र केही लेखिदिएको बताउँदै वाग्लेले त्यहाँ भएका आर्थिक सुधारका पाटाहरूलाई कार्यान्वयन गर्न आग्रह गरे।
‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नुभएको होला हाम्रा अर्थमन्त्रीज्यूले, मैले पनि पढेको छु, मैले पनि धेरैबहुत लेखिदिएकै हो,’ वाग्लेले भने, ‘त्यहाँ ओम्निबस आर्थिक सुधारको कुरा गरिएका छन्। आफ्नै घोषणापत्र पढेर कार्यान्वयनमा उतार्नुहोला। यो हैरानी र झन्झटको दुश्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउनुपर्ने छ।’
साथै, उनले अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको सिद्धान्त र प्राथमिकताबाट धेरै आशा नपलाएको पनि बताए।
‘आज ट्रेलर र फिल्मका कुराहरु आएको छ। अर्थमन्त्रीले ट्रेलर त देखाउनुभएको छ, धेरै आशा पलाएको छैन। बजेटसम्म आइपुग्दा थप उत्साह जगाउन सक्नुहा,’ वाग्लेले भने, ‘सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर उम्कन सक्ने अवस्था छैन।’
नेपालको कर्जा विस्तारमा आर्थिक वृद्धिदरसँग सामञ्जस्यता देखिन नसकेको उनले बताए । त्यस्तै सरकारी आयको तुलनामा खर्च बढ्दै जानु पनि गम्भीर विषय रहेकाे उनले बताए । ‘बजेट घाटाको खाडल कसरी हटाउने भन्ने ठूलो चुनौती छ । कर्जा लगानी र आर्थिक वृद्धिदरबीच ठूलो भ्वाङ छ । कर्जा नियमितरुपमा २०/२२ प्रतिशतले वृद्धि भइरहेको छ । तर त्यसले अर्थतन्त्रको वृद्धिदरमा उपेक्षित योगदान दिन सकेको देखिँदैन’, उनले भने ।
नेपालमा डिजिटल प्रविधिको पर्याप्त विकास हुन नसकेको, विश्वआपूर्ति शृङ्खला खल्बलिएको, सस्तो पुँजी दुर्लभ हुँदै गएको, स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पर्याप्त रहेपछि त्यहाँबाट पाइने सेवाको प्रभावकारिता देखिन नसकेकोलगायतका विषय सांसद वाग्लेले उठाएका थिए ।
FACEBOOK COMMENTS