काठमाडौं । खोटाङका एक जना वडाध्यक्षले सरकारी सेवासुविधाबापत आफूलाई प्राप्त तलबभत्ताको रकमबाट खानेपानीको पाइप खरिद गरी स्थानीयलाई वितरण गरेका छन् ।
खोटेहाङ गाउँपालिका–३, सावाकटहरेका वडाध्यक्ष जेफर राईले आफ्नो चार महिनाको ९० हजार रुपैयाँ तलबभत्ताबाट तीन हजार मिटर खानेपानीको पाइप किनेर स्थानीयलाई बाँडेका हुन् ।
सावाकटहरेका दुईवटा टोलमा खडेरीको समयमा खानेपानीको समस्या हुने गरेकाले त्यसको निराकरणका लागि आफ्नै खर्चमा करिब तीन हजार मिटर पाइप किनेर वितरण गरेको वडाध्यक्ष राईले बताए ।
सावाकटहरेका बाकुताङ र सावावनताला टोलका स्थानीयलाई आज शुक्रबार पाइप वितरण गरिएको हो ।
आफूलाई प्राप्त हुने सरकारी सेवासुविधासमेत सामाजिक कार्यमा परिचालन गर्ने पूर्वघोषणाअनुरूप तलबभत्ताको रकमले खानेपानीको पाइप किनेर वितरण गरेको उनले बताए ।
‘सावाकटहरेका बाकुताङ र सावावनताला टोलमा चैत–वैशाखको खडेरी सुरु भएपछि खानेपानीको अभाव खड्किने गरेको छ । यही समस्यालाई मध्यनजर गर्दै पाइप खरिद गरी वितरण गरेको हुँ,’ वडाध्यक्ष राईले भने, ‘उपलब्ध पानीको मात्राअनुसार दुईवटा टोललाई मिलाएर खोनपानी वितरण गर्ने योजना छ । यसले हाम्रा नागरिक खानेपानीको समस्याबाट केही हदसम्म मुक्त हुनेमा म विश्वस्त छु ।’
हेर्नुहोस् भिडिओ–
FACEBOOK COMMENTS