जलेश्वर । लामो समयदेखि पानी नपर्दा खानेपानीको अभावमा काकाकुल भएका र धान रोपाइँको चिन्ताले पिरोलिएका महोत्तरीका किसान गएराति जिल्लामा भएको मुसलेधार वर्षाका कारण हर्षित भएका छन् ।
महोत्तरीको दक्षिण, पश्चिम, पूर्व र मध्यक्षेत्रमा करीब छ महिनापछि गएराति मुसलेधार पानी परेको थियो । उखरमाउलो गर्मीका बीच गाउँगाउँमा रहेका पोखरी, ताल, ईनार, कुवा र चापाकलको पानी सुकेर खानेपानीको समस्या भइरहेको अवस्थामा पानीले राहत मिलेको जलेश्वर नगरपालिका–८ का मनोज ठाकुरले बताए ।
यसैबीच धान खेतीका लागि आधा साउन बितिसक्दा पनि जिल्लामा पानी नपर्दा धानबाली लगाउन नपाएका यहाँका किसान चिन्तामा परेका बेला ढिलै भएपनि अब जिल्लामा रोपाइँ हुने भन्दै किसान खुशी भएका छन् । जलेश्वर–११ का किसुन बिच्छा पोखरी, ताल, ईनार, कुवा र चापाकलमा पानीको सहत बढेको बताए ।
मुसलेधार वर्षा भएपछि आज बिहानैदेखि महोत्तरीका किसान आआफ्ना खेतबारीमा हलो, कोदालो, टैक्टर र रोपाइँ गर्ने मजदुर साथमा लिएर पुगेका थिए । पानी नपर्दा साउन महिनाको पहिलो सातासम्म जिल्लामा २५ प्रतिशत मात्रै रोपाइँ भएको थियो भने अब जिल्लाका किसानले धमाधम धान रोपाइँ गर्ने प्रतिशत बढ्दै छ ।
दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा कूल ७१ हजार ५७० हेक्टर खेती योग्य जग्गा रहेको मध्ये ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ भने त्यसमध्ये यसवर्ष ४० हजार हेक्टर जग्गामा यसवर्ष धान खेती हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द राय यादवले बताए । उनका अनुसार यसअघि जिल्लाको उत्तरी पश्चिमी क्षेत्रका किसानले मोटर, डिजेल पम्प, नदीनाला, ईनार, कुवा र स्यालो ट्युववेलको सहयोगमा २५ प्रतिशत रोपाइँ गर्न सकिएको थियो ।
FACEBOOK COMMENTS