खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका आठ सय घरका उपभोक्तालाई खानेपानी उपलब्ध गराउने गरी सुरु गरिएको ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम तीव्र गतिमा अगाडि बढेको छ ।
खानेपानी मन्त्रालयको भ्याटसहित ३१ करोड १८ लाख ९२ हजार ६५६ लगानीमा बतासेका आठ सय बासिन्दाको घरघरमा एक/एक खानेपानीको धारा उपलब्ध गराउने गरी डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेक्कामार्फत सुरु गरिएको हो ।
सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनीले निर्माणको ठेक्का लिएको आयोजनाको काम ४० प्रतिशत पूरा भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालयका प्रमुख इञ्जिनियर विपुलकुमार लालदासले जानकारी दिए । “दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनाको मुख्य संरचना निर्माणको काम सम्पन्न भइसकेको छ, तोकिएकै मितिमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ”, उनले भने, “आयोजनाको काम सम्पन्न भएपछि बतासेका उपभोक्ता लाभान्वित हुनेछन्, तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गराउन स्थानीय सरकार तथा उपभोक्ताले सहयोग गर्नुपर्छ ।”
विसं २०७९ भदौमा सम्झौता गरिएको आयोजना विसं २०८१ भदौ १८ गतेभित्र सम्पन्न गर्नुपर्ने दुईपक्षीय सम्झौतामा उल्लेख छ । दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना दिक्तेल–गाईघाट सडकखण्डको भण्डारेघाटस्थित सुनकोसी नदीबाट पम्पमार्फत् तानिने पानी लिफ्टिङ गर्दै बतासेमा पुर्याएर वितरण गर्ने योजना रहेको उपभोक्ता समितिका अध्यक्ष सुपेन्द्र राईले जानकारी दिए ।
फिल्टर तथा आरबिटी ट्यांकी, पाइपलाइन, विद्युतका खम्बा जडानलगायतको काम तीव्र गतिमा भइरहेको निर्माण कम्पनीका आयोजना प्रमुख सविन राईले जानकारी दिए ।
“भण्डारेघाटमा तीन लाख लिटरको एउटा ट्यांकी र फिल्टरिङ गर्ने ठाउँ निर्माणको काम सम्पन्न भएको छ, सुनकोसीको पानी तान्न पाँच ठाउँ लिफ्ट गरिन्छ, साढे तीन किलोमिटरमाथि मुसुरीडाँडामा ७५ र रातमाटामा ३० हजार लिटरको ट्यांकी निर्माण गरेर त्यसमा जम्मा गरिएको पानी स्थानीय बासिन्दालाई वितरण गर्ने योजना छ”, उनेले भने, “मुसरीडाँडामा वितरण लाइनको तीन वटासँगै मुख्य लाइनको ट्याङ्की निर्माण गरिसकिएको छ, रातमाटामा निर्माण गर्ने तयारी गरिरहेका छौँ, वितरण लाइनमा छ ट्यांकी निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ, चार वटा बनिसके, दुईवटा बाँकी छ, त्यो पनि आगामी वैशाखभित्र सम्पन्न हुन्छ ।”
FACEBOOK COMMENTS