काठमाडौं । चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो सात महिनामा ६२ हजार ५२३ जना बीमितले आफ्नो बीमा पोलिसी बन्द (सरेन्डर) गरेर झन्डै ८ अर्ब ५९ करोड २ लाख २ हजार रुपियाँ लिएका छन्। याे नेपाल बीमा प्राधिकरणको माघ मसान्तसम्मको तथ्यांक हाे । माघ महिनामा मात्रै ८ हजार १०९ वटा पोलिसी सरेन्डर हुँदा १ अर्ब १२ करोड ३५ लाख रुपैया बाहिरिएको छ।
गत पुसमा ९ हजार २५४ वटा पोलिसी सरेन्डर भएर १ अर्ब ३५ करोड ९४ लाख रुपियाँ बाहिरिएको थियो भने साउनमा १० हजार २९२ वटा पोलिसी सरेन्डर गरी १ अर्ब ५४ करोड ११ लाख रुपियाँ निकालिएको थियो। भदौमा ९ हजार ४४९ वटा (१ अर्ब २१ करोड २२ लाख), असोजमा ८ हजार ३१६ वटा (१ अर्ब ७ करोड १३ लाख), कात्तिकमा ७ हजार ९२८ वटा (१ अर्ब ५० लाख) र मंसिरमा ९ हजार ७५ वटा (१ अर्ब २७ करोड ७५ लाख) पोलिसी सरेन्डर भएको तथ्यांकले देखाउँछ।
हाल नेपालमा सञ्चालित १४ ठूला जीवन बीमा कम्पनीहरूमा यो सरेन्डरको लहर देखिएको हो।
सरेन्डर रकम र संख्याको हिसाबले एलआईसी नेपाल सबैभन्दा अगाडि छ। यो कम्पनीमा १५ हजार ३६२ वटा पोलिसी सरेन्डर हुँदा २ अर्ब ५९ करोड ७९ लाख रुपियाँ बाहिरिएको छ। दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्समा १४ हजार २५ वटा पोलिसी सरेन्डर भएर २ अर्ब ३६ करोड २४ लाख रुपियाँ बाहिरिएको छ। तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी छ, जहाँ ८ हजार ४९१ वटा पोलिसी सरेन्डर गरी ७८ करोड ६४ लाख रुपैया निकालिएको छ।
अन्य कम्पनीहरूमा पनि सरेन्डरको अवस्था उस्तै छ। नेशनल लाइफमा ५५ करोड १५ लाख (३,७२० वटा), एशियन लाइफमा ५४ करोड १९ लाख (५,१११ वटा), सूर्यज्योति लाइफमा ४६ करोड ९९ लाख (३,४८३ वटा), हिमालयन लाइफमा ३७ करोड ८१ लाख (४,१३७ वटा), मेट लाइफमा २४ करोड १२ लाख (२,०९५ वटा), सानिमा लाइफमा १५ करोड ३६ लाख (१,०७७ वटा), सिटिजन लाइफमा १४ करोड ९१ लाख (१,६६० वटा), प्रभु महालक्ष्मी लाइफमा १२ करोड ४६ लाख (८८२ वटा), आईएमई लाइफमा १२ करोड ३१ लाख (१,०७३ वटा), रिलायवल नेपाल लाइफमा ६ करोड ४३ लाख (९६५ वटा) र सन नेपाल लाइफमा ४ करोड ५५ लाख (४४२ वटा) सरेन्डर भएको छ।
प्राधिकरणका अनुसार कम्पनीमा जति धेरै बीमा हुन्छ, त्यति नै सरेन्डरको संख्या र रकम पनि बढ्छ। तर, अनुपातमा भने ठूलो अन्तर नहुन सक्छ। यो तथ्यांकले बीमितहरूको बदलिँदो मनोविज्ञान र आर्थिक अवस्थालाई पनि संकेत गर्छ।
FACEBOOK COMMENTS