काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि उत्पादन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी भइरहेको दावी गरेका छन् ।
सिंहदरबारमा आइतबार किसान संगठनहरूका प्रतिनिधिहरूसँगको संयुक्त भेटमा प्रधानमन्त्रीले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर मात्रै समृद्धिको लक्ष्य हासिल हुने भएकाले सरकारले सोहीअनुसार तयारी गरिरहेको दावी गरेका हुन् ।
‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । यसपटकको नीति, कार्यक्रम र बजेटमा उत्पादन र रोजगारी सिर्जनाका लागि नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ’, उनले भने, ‘तपाईंहरूले दिनुभएको ध्यानाकर्षण पत्रले पनि सरकारलाई नयाँ ढंगले सोच्न सहयोग पुग्ने ठानेको छु । उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन ।’
प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलन किसान आन्दोलनको जगमा उभिएको भन्दै प्रजातान्त्रिक आन्दोलनको जग पनि किसान आन्दोलन नै रहेको बताए ।
‘आजको परिस्थितिमा उत्पादन पद्धतिमा फेरबदल आएको छ । वैदेशिक रोजगारीले कृषिप्रतिको आकर्षक घटेको छ । तर, आज पनि अर्थतन्त्रको मुख्य मेरूदण्ड कृषि नै हो । यसलाई व्यवस्थित गर्नेतर्फ मेरो जोड छ’ उनले भने, ‘कतिपयले यो सरकारका राम्रा काम देखिरहेका छैनन् । तर, ४ महिनामा निकै राम्रा काम भएका छन् । लक्ष्यअनुसार नभए पनि राजस्व संकलनमा राम्रो सुधार आएको छ । विदेशी मुद्राको सिञ्चिति उत्साहवर्द्धक रूपमा बढेको छ ।’
अर्थतन्त्रका अधिकांश सूचकमा सकारात्मक सुधार आएको प्रचण्डको भनाइ छ ।
लघुवित्त र सहकारीलाई श्रम र उत्पादनमा केन्द्रित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।
‘लघुवित्त र सहकारीहरू वित्तीय कारोबारमा संलग्न हुँदा एकातर्फ वित्तीय अराजकता र नियमनमा समस्या देखिएको छ, अर्कोतर्फ उत्पादनको क्षेत्र ओझेल परेको छ । यिनीहरूलाई श्रम र उत्पादनको क्षेत्रमा केन्द्रित गर्नुपर्छ । नीतिमा नै आवश्यक व्यवस्था गरेर यससम्बन्धी समस्या समाधान गर्छौ’, उनले भने ।
कृषि क्षेत्रलाई प्राथमिकता र किसानको सम्मानमा सरकारले ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएकाे किसान संघले जनाएकाे छ ।
FACEBOOK COMMENTS