काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कार्यविधि नभएका कारण पशुपति मन्दिरका लागि सुन दान दिन्छु भन्दा पनि लिन नसकिएको बताएका छन् ।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) को बिहीबार गुह्येश्वरीमा शुभारम्भ गर्दै उनले अब चाँडै कार्यविधि बनाएर सुन दान लिइने बताएका हुन् ।
उनले कार्यविधि नभएकै कारण भारत गोवाका मुख्यमन्त्रीले पशुपति मन्दिरको शिवलिंगको नाग परिवर्तनका लागि सुन दान दिन्छु भन्दा पनि स्वीकार गर्न नसकिएको सुनाए ।
‘गोवाका मुख्यमन्त्रीबाट पशुपति शिवलिंगको नाग परिवर्तन गर्नका लागि कति सुन चाहिन्छ दिन्छु भन्ने प्रस्ताव आएको छ,’ उनले भने ।
मन्दिर क्षेत्रमा दान लिइने सुनका विषयमा कार्यविधि बनाउन समिति गठन गरिसकेको उनको भनाइ छ ।

‘सुन लिएर व्यवस्थित गर्ने कार्यविधि नभएका कारण समितिले अध्ययन गरेर आवश्यक कानुन निर्माणमा गरी दाताबाट सुन लिएर त्यसको सदुपयोग हुन्छ,’ उनले भने, ’पशुपति क्षेत्रमा दानको सदुपयोग हुन्छ ।’

मानिसलाई आत्मानुशासनमा ल्याउन धार्मिक भाव र लोकतान्त्रिक भाव आवश्यक पर्ने मन्त्री पाण्डे बताउँछन् ।

‘पशुपति क्षेत्रमा आउने मानिस धार्मिक भावका हुन्छन्, यस्तो भाव हुनेहरुले जताततै फोहर गर्नुभएन, आफूले गरेको फोहर सही स्थानमा व्यवस्थापन गर्नुपर्छ, आत्मानुशासन हुने गरेकै कारण कति देशमा सडकमा ट्राफिक बस्नुपर्दैन, हामी पनि धार्मिक र लोकतान्त्रिक भावले त्यही मार्गमा अघि बढ्नुपर्छ’, उनले भने ।