संविधानसभाबाट नेपालको संविधान (२०७२) जारी भएसँगै गठित सूचना तथा सञ्चारसम्बन्धी उच्चस्तरीय समितिको सिफारिसबमोजिम राष्ट्रिय आमसञ्चार नीति, २०७३ जारी भयो । यो नीतिमा सार्वजनिक सेवा प्रसारणको स्थापना गरी रेडियो नेपाल र नेपाल टेलिभिजनलाई रूपान्तरण गर्ने व्यवस्था समेटियो । २०८१ भदौ ३१ गते सङ्घीय संसद्बाट पारित भई असोज २२ गते राष्ट्रपतिबाट सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक प्रमाणीकरण भयो । ऐनको व्यवस्थाबमोजिम प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेदेखि ऐन कार्यान्वयनमा आयो । नयाँ ऐनको कार्यान्वयनसँगै सार्वजनिक सेवा प्रसारण संस्था स्थापना भई रेडियो प्रसार सेवा विकास (समिति) गठन आदेश, २०४१ अन्तर्गत गठन भएको रेडियो नेपाल र सञ्चार सस्थान ऐन, २०२८ अन्तर्गत स्थापना भएको नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको हो । प्रस्तुत छ, नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सवको अवसरमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा महेन्द्र विष्टसँग गरिएको कुराकानी :
नेपालमा टेलिभिजन प्रसारणको जननी मानिने नेपाल टेलिभिजनले स्थापनाको ४०औँ वर्षगाँठ मनाइरहँदा एनटीभी स्थापनाको उद्देश्य र यसले खेल्दै आएको भूमिकालाई कसरी लिनुहुन्छ ?
नेपाल टेलिभिजन नेपालको पहिलो टेलिभिजन प्रसारण संस्थाको रूपमा स्थापना भयो । विसं २०४१ मा स्थापना हुँदाखेरि यसले नयाँ अभ्यासको रुपमा सबैको एउटा जिज्ञासाको विषयको रूपमा यो आयो । त्यसबेलाको प्रविधिलाई उच्चतम प्रयोग गरेर यो आयो । पहिले नै रङ्गीन टेलिभिजन रूपमा स्थापना भयो । विषयवस्तुको हिसाबमा पनि विकासका लागि सञ्चारको नारा अगाडि सार्यो, त्यो अत्यन्तै त्यो बेलाका लागि सान्दर्भिक नारा थियो । त्यसको विकासक्रमअनुसार प्रविधि मात्रै होइन यसले दिने विषयवस्तु प्रमुख कुराहरू हुन् । विषयवस्तुको रूपमा जाँदाखेरि जुन बेलाको जस्तो शासन प्रणाली छ त्यो शासन प्रणालीभन्दा भिन्न किसिमले लैजान सक्ने अवस्था यसको संरचनाको हिसाबमा पनि थिएन । विषयवस्तुका हिसाबमा प्रारम्भिक दिनहरू नियन्त्रित रूपमा अगाडि बढे । यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारिताको आधारभूत मान्यताहरूलाई सम्पूर्ण रूपमा पालन गर्न सक्ने छुट यससँग थिएन ।
जब २०४६ सालमा जनआन्दोलनले नेपालमा प्रजातन्त्रको बिहानी प्रारम्भ भयो, प्रजातन्त्र प्रारम्भ भएसँगै नेपाल टेलिभिजनले आफ्नो दायरालाई फराकिलो बनाउँदै लिएर गयो । त्यो बनाउने सिलसिलामा यसले प्रजातन्त्रलाई सस्थागत गर्नको निम्ति महत्त्वपूर्ण योगदान गर्यो । राष्ट्रिय एकताको भाव सिर्जना गर्ने, राष्ट्रियतालाई प्रवर्द्धन गर्ने र विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्ने आमजनतालाई र उनका सरोकारहरूलाई सम्बोधन गर्ने प्रयास गर्दै गयो । यसबीचमा राजनीतिक परिवर्तनमा जुनबेला अंकुश लाग्यो त्यो बेलामा यो फेरि संकुचित हुने खालको अवस्था पनि सिर्जना भयो । अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छौँ । यस अभ्यासमा जाँदाखेरि यसको दायरा फराकिलो भयो । तर पनि एउटा सालको चाहिँ जुन संरचना थियो नेपाल टेलिभिजन र रेडियो नेपालको, त्यो संरचनाले यसलाई एउटा स्वतन्त्र र व्यापकताको रूपमा प्रेस स्वतन्त्रतालाई अघि बढाउन सक्ने गरी दायारा थिएन । त्यसलाई पनि अझ फराकिलो गरेर सार्वजनिक सेवा सेवा प्रसारकको रूपमा योजना व्यापकतामा अगाडि बढेको छ । विगतको एउटा खालको विरासतलाई हामीले महत्त्वपूर्ण, गौरवपूर्ण र ऐतिहासिक मान्दै अब नयाँ चरणमा प्रवेश गरेका छौँ ।
नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारकको रूपमा रूपान्तरण भइसकेको छ । नयाँ परिस्थितिमा आममानिसहरूले पीएसबीलाई कसरी बुझ्ने ? तपाईँ पीएसबीकै पहिलो अध्यक्ष भएको नाताले अब यसलाई कसरी अघि लैजानुहुन्छ ?
सार्वजनिक सेवा प्रसारण भन्नेबित्तिकै यसका आधारभूत सिद्धान्तहरू छन्, मान्यताहरू छन्, विश्वव्यापी रूपमा झण्डै एक शताब्दीदेखि अभ्यास हुँदै र विकास हुँदै आएका चरणहरू छन् । सार्वजनिक सेवा प्रसारण प्रसारण मात्रै नभएर सार्वजनिक सेवा माध्यमको रूपमा र पीएसबीलाई पीएमको रूपमा अभ्यास गर्दै आएका चलनहरू पनि छन् । हामी नाममा पीएसबी भनिए तापनि पीबीएम अभ्यासमा गइरहेका छौँ । त्यो अभ्यासमा जाँदा तीन-चार किसिमका क्षेत्रहरू चाहिँ नयाँ ढङ्गले अगाडि बढ्छन् । यसमा हामी नेपाल टेलिभिजनको र रेडियो नेपालको स्वरूपमा अहिले होइन, यसको रूपान्तरण भइसकेको स्वरूपमा सार्वजनिक सेवा प्रसारणमा रहेको अवस्था हो । सार्वजनिक सेवा प्रसारण भनेर नयाँ संस्था स्थापना भएको र संस्थामा यी संस्थाहरू पनि रूपान्तरित भएको स्थिति भएकाले हामीले त्यो ऐतिहासिक विरासतलाई त लिन्छौँ, तर विषयवस्तुहरू भने आधारभूत रूपमै परिवर्तन हुन्छन् । यसको दायारा अझ फराकिलो भएर जान्छ । जस्तोः राजनीतिक रूपमा हेर्ने हो भने यसले राजनीतिक तटस्थता लिन्छ । कुनै पनि दल विशेष र कुनै पनि संरचना विशेषको एकपक्षीय रूपमा प्रस्तुत हुने कुनै कालखण्डमा थियो भने पनि पीएसबीमा अब त्यो रहँदैन । यसले राजनीतिक रूपमा तटस्थतालाई कायम राख्छ । त्यसैगरी व्यापारिक स्वार्थबाट प्रेरित भएर चल्नुपर्ने खालको बाध्यता यसमा हुँदैन । व्यापारिक स्वार्थभन्दा पनि तटस्थ रहन्छौँ । राज्यको दायित्वलाई पालना गर्ने गरी पीएसबीको अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्छौँ ।
सार्वजानिक सेवा प्रसारणको पहिलो अध्यक्षको हिसाबले तपाईंको योजना के छ ? पीएसबी कार्यान्वयनका लागि कामहरू कसरी अघि बढाउँदै हुनुहुन्छ ?
हामीले तीन-चार चरणमा काम गर्ने गरी योजना बनाएका छौँ । पहिलो चरणमा पीएसबीका बारेमा हामी स्पष्ट हुने र स्पष्ट गराउनेछौँ । यस सिलसिलामा अभिमुखीकरणका क्रमहरू चलिरहेको छ । समाचार, कार्यक्रम, इञ्जिनियरिङ, प्रशासन, आर्थिक, व्यापारिक हरेक क्षेत्रमा पुनः अभिमुखीकरण गरेर अगाडि बढ्ने चरणमा छौँ । प्रक्रिया अगाडि बढिसकेको छ । त्यसैगरी हामीले विभिन्न नौ-दसवटा क्षेत्रमा विषयगत क्षेत्रमा समूहगत छलफलसहितको पीएसबीको प्रि-लञ्चिङ कार्यक्रम सम्पन्न गरिसकेका छौँ । त्यसले हाम्रो दायरालाई हामीबीचको छलफलमा मात्र सीमित नगरी यसका मुख्य सरोकारवालहरूसँग पनि पुग्ने प्रयास गरेका छौँ । त्यो क्रम जारी रहेको छ ।
हामी हाम्रा विषयवस्तुका प्राथमिकता क्षेत्र निर्धारण गर्ने र हामीले नयाँ प्रक्रियामा जाँदा सङ्गठन संरचना, पदको निर्धारण, समायोजनदेखि नयाँ खालको वृत्ति विकासका अवसरदेखि आन्तरिक अभ्यासका चरण र बाह्यमा यसले दिने विषयवस्तु, समाचार ढाँचाहरू, नीतिहरू, कार्यक्रमहरू, मापदण्डहरू, कार्यविधिहरू सबै पुनरवलोकन गरेर अघि बढ्ने चरणमा छौँ । विषयवस्तुतर्फ हामीले मुख्य रूपमा तीनवटा क्षेत्रहरूलाई प्राथमिकताको क्षेत्रमा रूपमा लिएका छौंँ । राष्ट्रिय एकता, विपद् र समृद्धि तीन पिलरको रूपमा विषयवस्तुहरू रहनेछन् । तीन खम्बाभित्र हामीले सम्पूर्ण क्षेत्रलाई झैँ फेरि उपखण्डको रूपमा व्यवस्थापन गर्नेछौँ ।
राष्ट्रिय एकताभित्र राष्ट्र सम्पूर्ण भाषा, संस्कृति, धर्म, वर्ण, लिङ्ग सबैलाई समेटेर लिएर जाने कुरा हुन्छ । त्यसभित्र राष्ट्रियता, भौगोलिक अखण्डता, त्यसमा विभिन्न खालको हामी बहुलता र विविधताका पक्षहरूलाई राष्ट्रिय एकताको भावभित्र समेट्छौंँ । कसैले पनि यसबाट बाहिर पर्यौँ भन्ने अवस्था आउने छैन । समावेशिताको ऐनाका रूपमा हामी रहनेछौँ । यस्तै विपद्भित्र नागरिकको जीवनरक्षा हाम्रो प्राथमिक विषय हुन्छ । प्राकृतिक विपत्ति होस् वा महामारी एवं वातावरणको क्षेत्र होस्, जलवायु परिवर्तनको क्षेत्रमा यी सबै क्षेत्रहरूलाई हामीले विपद्भित्र लिएर जान्छौँ । त्यसैगरी समृद्धिभित्र आर्थिक समृद्धि, भौतिक विकासदेखि मानव विकासका सबै पक्षहरू, मानव जीवनका परिवर्तनका सबै कक्षाहरू जुन समेटिएका हुन्छन्, नागरिकको सुखका, हितका पक्षहरू समेटछौँ । नयाँ विषयवस्तु र नयाँ ढङ्गले प्रस्तुत गर्छौं । अहिले भइरहेका समाचारको शैलीलाई परिवर्तन गर्दैछौँ र गर्न सुरू गरिसकेका पनि छौँ । हामी रेडियो, टेलिभिजन र डिजिटल प्लाटफर्महरूलाई समानन्तर हिसाबमा तीनवटा अङ्ग बनाएर लिएर जान्छाैँ । पीएसबीको आधारभूत मान्यताभित्र सर्वव्यापकता हुन्छ, सर्वव्यापकताको पूर्ण अभ्यास गर्छौँ । त्यो प्रविधिको विषयवस्तु दुवै हिसाबले अगाडि बढ्छ ।
टेलिभिजनको सञ्चालन खर्चको व्यवस्था स्पष्टसँग पीएसबीको ऐनमा उल्लेख गरिएको पाइँदैन । तर, संस्थालाई आर्थिक भार भने बढ्दै गएको छ । यस्तो अवस्थामा एनटीभीका हालका च्यानलहरू पीएसबीमा कसरी सचालन गरिन्छ ? खासगरी सञ्चालनका लागि आर्थिक उपार्जनको बाटो के होला ?
विश्वमा पीएसबी सञ्चालनका विभिन्न खाले ढाँचाहरू अभ्यासमा रहेका छन् । कतिपयले दर्शक-श्रोताहरूबाट कर सङ्कलन गर्ने, हेरेबापत/सुनेबापत नै स्रोत प्राप्त हुने गरी सञ्चालन गरेको पाइन्छ । कतिपय राज्यको कोषले कुनै लगानी गरिरहेको, कतिपय बाह्य अथवा आन्तरिक सहयोगमा निर्भर भएको र कतिपयले कमर्सियल मार्केटबाट व्यापारिक क्षेत्रबाट गरिरहेको अवस्था हो । हाम्रो सार्वजनिक सेवा प्रसारण ऐनले यसको आयका स्रोतहरूमा सङ्घीय सरकारबाट हुने अनुदान, प्रदेश र स्थानीय तहबाट हुने अनुदान, बाह्य क्षेत्रबाट प्राप्त हुने सहयोग र यसले आर्जन गर्ने आयलाई लिएको छ । यी तोकिएका क्षेत्रहरूको आधारमा हेर्दा हामी कर प्रणालीमा पूरै निर्भर हुने, नागरिकमा हुने वा व्यापारिक हुने नभएर मिश्रित खालको हाइब्रिड मोडलमा रहने परिकल्पना गरेको देखिन्छ ।
यो मोडल पनि अभ्यासमा आएको छ । हाइब्रिडमा जाँदा कतिपय सहजता भएको, कतिपय एकदमै खतरनाक अवस्था सिर्जना भएको र जोखिममा परेको अभ्यासहरू पनि देखिएका छन् । यसले मिश्रित खालको नतिजा दिएको छ । तपाईँले भनेजस्तो पीएसबी सञ्चालन कोषको कोष व्यवस्थापनको हिसाबमा यो सुरक्षित अवस्थामा अझै पुगिसकेको छैन । हामी यसलाई नयाँ स्वरूपमा जाँदाका अभ्यास पनि गर्दै त्यसभित्र परिमार्जन पनि गर्दै र स्रोतको सुनिश्चित हुने क्षेत्रहरूलाई प्रवर्द्धन गर्ने र स्थिर कोषको रूपमा एउटा हुने र संस्थालाई आफैँभित्रको क्षमता विकासको प्रतिस्पर्धी बनाउनका निम्ति स्पष्टताको हाइब्रिडमा जाने गरी अगाडि बढ्नुपर्नेछ । यसको व्यवस्थापकीय नेतृत्व गरिरहेको हिसाबमा हेर्दाखेरि जोखिमको मात्रालाई कम गर्दै यसको अवसरहरूलाई बढाउँदै यसको भविष्यलाई सुनिश्चित गराउने गरी कोषको व्यवस्थापनको पहल गर्नुपर्ने आवश्यकता मैले देखिरहेको छु । त्यो गर्नका निम्ति सरकारसँग पनि हामीले पहल सुरू गरिसकेका छौँ । नागरिक तहबाट पनि यसमा अझै छलफल हुँदै जान्छ । राष्ट्रिय सरोकारवालाको दायरामा पनि रहँदैन । युनेस्कोले पनि अब सूचीकरण गर्न थाल्छ । भोलि यसको स्तरहरू त्यहाँको देखिन थाल्छ । यी सबै अभ्यास गर्दै जाँदा यसको कोषको पनि सुनिश्चिता हुने र स्थिरता कायम हुने गरी अगाडि बढ्छ भन्नेमा विश्वस्त छु ।
नेपाल टेलिभिजनले भविष्यमा आफ्ना च्यानल एवम् ब्युरोहरू विस्तारको योजना के कस्तो बनाएको छ ? एनटीभी वर्ल्ड च्यानल सञ्चालनको अवस्था के छ ?
हामीले तीनवटा कुराहरूलाई समानन्तर रूपमा लिएर जान्छौँ । रेडियो प्रसारण, टेलिभिजन प्रसारण र डिजिटल प्लाटफर्मको सञ्चालनलाई सँगै लिएर जान्छाैँ । यी तीन पिलरको रूपमा लिएर जाँदाखेरि रेडियोको अहिले आइरहेको मिडियम वेभ र फ्रिक्वेन्सी मोडुलेसन मार्फतको जुन प्रसारणहरू भइरहेको छ, यसले पहुँचलाई वृद्धि गरेको छ । तर पनि सहजतामा कतिपय कुरा अहिले पनि कठिन भइरहेको छ । यसले रेडियोको सिङ्गल च्यानलबाट जुन भइरहेको छ, त्यसलाई चाहिँ दुई च्यानलबाट जान सक्ने रेडियोतर्फ हामी जान्छौँ ।
त्यसैगरी टेलिभिजनतर्फ हामीले पाँचवटा च्यानलहरूले सञ्चालन गरिरहेकामा ती च्यानलहरूलाई अझ स्पष्टताका साथ विभाजन गर्नेछौँ । कति दोहोरोपनहरू पनि भइरहेको त्यसलाई विशिष्टीकृत गर्ने दुईवटा प्रदेशमा सञ्चालन भइरहेका च्यानललाई त्यस भेगका लागि बढी केन्द्रित गर्ने, राष्ट्रिय च्यानलको रूपमा आइरहेको च्यानललाई कमर्सियल मार्केटमा समेत लैजाने गरी अगाडि बढाउने, अझ प्रवर्द्धन गर्नेछौँ । त्यसपछि एउटा च्यानललाई पूर्ण पीएसबी अर्थात् क्लिनफिडकै रूपमा जान सक्ने गरी बनाउनेछौँ । अब विश्व जनसमुदायमा नेपाललाई स्थापित गर्ने हिसाबले बाहिरका अभ्यासहरूलाई समेत ध्यानमा राखेर एनटीभी वर्ल्डको परिकल्पना भइरहेको छ । चाँडै नै हामीले सञ्चालनमा लैजाने गरी काम अघि बढाएका छौँ । मल्टिमिडियाको हिसाबमा चाहिँ त्यसको छुट्टै विषयवस्तुको उत्पादन हुने गरी डिजिटल प्लाटफर्मलाई एकदमै बलियो बनाएर जनताले हाम्रो कन्टेन्टहरूलाई उहाँहरूलाई अनुकूल हुने जुनसुकै माध्यम र जुनसुकै समयमा हेर्न, सुन्न, पढ्न सक्ने गरी हामी अगाडि बढाउँछौँ ।
अन्त्यमा, नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सवको अवसरमा टेलिभिजनमा कार्यरत कर्मचारीहरू, दर्शक तथा श्रोता र विज्ञापनदाताहरूलाई के भन्नुहुन्छ ?
सबैभन्दा पहिले नेपाल टेलिभिजनको ४०औँ वार्षिकोत्सव सार्वजनिक सेवा प्रसारण गइसकेको अवस्थाको वार्षिकोत्सवको रूपमा बुझ्नको लागि म आग्रह गर्न चाहन्छु । हामी यो आर्थिक वर्षभरि दुईटा छुट्टाछुट्टै नियमावली विनियामवलीअनुसार छुट्टै वार्षिकोत्सवको रूपमा मनाए पनि पीएसबी रूपान्तरणकै चरणको रूपमा बुझिदिन आग्रह गर्दछु । यो कुनै पनि किसिमको स्वार्थबाट अलग भएर नागरिकको स्वार्थबाहेक यसभित्र अर्को कुनै स्वार्थ छैन भन्ने बुझेर यसलाई साथसहयोग गर्न आफ्नो डोमेनभित्रलाई चाहिँ तपाईँको सबै स्वामित्वको हिसाबमा पनि ग्रहण गरिदिनुहुन र एलआईसी साथसहयोग दिनुहुन म अनुरोध गर्न चाहन्छु । हाम्रो सम्पूर्ण दर्शकहरूलाई यहाँसम्म विकास गर्नलाई जो जसले योगदान गर्नुभयो सबैप्रति म आभार, कृतज्ञता व्यक्त गर्न चाहन्छु र यहाँ हामीसँग विज्ञापनदाताको रूपमा र विभिन्न किसिमका विषयवस्तुमा सहयोग गर्ने हिसाबमा जति सरोकारवाला हुनुहुन्छ, उहाँ सबैलाई हामीलाई यहाँसम्म ल्याउनका लागि सहयोग गर्नुभएकामा हार्दिक धन्यवाद भन्न चाहन्छु र भविष्यमा अझ फराकिलो स्वरूपमा उहाँको सहयोगको अपेक्षा गर्न चाहन्छु ।
यहाँ आबद्ध कर्मचारी, पत्रकार र सम्पूर्ण जो जनशक्ति हुनुहुन्छ उहाँहरूलाई यो पीएसबीले नयाँ अवसरहरू सिर्जना गर्दैछ । दायरालाई अझ फराकिलो बनाएर लगिरहेको छ । वृत्ति विकासका अवसरहरू पनि हामी नयाँ ढङ्गले सिर्जना गर्दैछाैँ । एकदमै बढी उत्प्रेरणाका साथ अगाडि बढ्नका निम्ति हामीसँग अब अधिकार पनि थपिएको छ, दायित्व पनि थपिएको छ भन्ने कुरालाई मनन गर्दै नयाँ दायित्वलाई बहन गर्नका निम्ति तयार भएर अगाडि बढ्नका निम्ति स्वःस्फुर्त रूपमा उत्प्रेरित भएर अग्रसरता लिन आग्रह गर्दछु । राष्ट्रिय एकताको भाव विकास गर्न मिडियाको तर्फबाट, पीएसबीको तफबाट त्यो दायित्व हामीले पूरा गर्न सबै मिलेर त्यसलाई पूरा गर्न लागिपरौँ भनेर आग्रह गर्न चाहन्छु । -रासस
FACEBOOK COMMENTS