काठमार्डौ । यस वर्षको मनसुन आजदेखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो ।
सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन आज बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । आज कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भएको पनि जनाइएको छ ।
केही दिनदेखि तापक्रम पनि घट्दै गएको छ । अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको छ । मनसुन देशैभरि फैलिन भने अर्को एक हप्ता लागेको थियो ।
FACEBOOK COMMENTS