सुनसरी । सुनसरीमा आइतबार र सोमबार हावाहुरीसँगै आएको असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुरु गरिएको छ ।
स्थानीय किसानको दबावका कारणले हावाहुरीसँगै असिना पानीबाट कृषिमा भएको क्षतिका विषयमा विवरण सङ्कलन गर्न सुरु भएको हो ।
गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकामार्फत हावाहुरीसँगै असिना पानीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन सुरु गरिएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए । उनका अनुसार आइतबार किसानले वडा, पालिकालगायत जिल्ला प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए ।
जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको भोलिपल्ट कृषि ज्ञान केन्द्रले क्षतिका विषयमा अनुगमन तथा तथ्याङ्क सङ्कलन गर्न सुरु गरेको केन्द्रका बाली संरक्षण अधिकृत मिरा तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गहुँ, मकै, केरा, बोडी, बन्दागोभी, फूलकोबी, काक्रा, सिमी, तितेकरेलालगायत बालीमा भएको क्षतिको विरण सङ्कलन भइरहेको छ ।
बाह्रैवटै स्थानीय तहबाट आएको विवरणलाई सङ्कलन गरेर प्रदेश र सङ्घीय मन्त्रालयमा पठाइने केन्द्रका प्रमुख सिंहले बताउनुभयो । हावाहुण्डरी र असिना, पानीले मकैै, केरा, बोडी, बन्दागोभी, फूलगोभी, काँक्रा, सिमी, तितोकरेलालगायत बालीमा क्षति भएको स्थानीयले बताएका छन् ।
FACEBOOK COMMENTS