काठमाडौं । यसपालि हिउँद नसकिँदै देशका अधिकांश भू–भागमा अधिक गर्मी महसुस हुन थालेको छ । मध्य तथा पूर्वी भेगमा चार महिना बितिसक्दा पनि हिउँदे वर्षा भएको छैन । भएका स्थानमा पनि अति कम वर्षा भएको छ ।
नेपालजस्तै दक्षिण एसियाका अन्य मुलुकमा पनि हिउँद नसकिँदै गर्मीको राप बढ्न थालेको त्रिभुवन विश्वविद्यालयस्थित जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताउँछन् । उनले भने, “भारतका विभिन्न प्रान्तमा यतिखेर तातो वायुको चाप बढ्दै छ, कतिपय स्थानमा चैत, वैशाखमा हुनुपर्ने ४० डिग्री सेल्सियसआसपासको तापक्रम अहिले पुगेको छ ।” राजस्थानलगायत मरुभूमिले छोएका स्थानमा तातो वायु र हावा एकैसाथ बहन थालेको बताउँदै उनले यसको असर नेपालमा एक÷दुई दिनयता बढेको गर्मीले आभास गराएको दाबी गरे ।
नेपालमा हिउँदे याम सकिन अब करिब एक साता मात्र बाँकी छ । यस्तोमा बिस्तारै गर्मी बढ्दै जानुपर्नेमा ह्वात्त उतारचढाव आउनेगरी गर्मीको राप बढ्नु राम्रो नभएको पोखरेल औँल्याउँछन् । भारतसँगै दक्षिण एसियाका पाकिस्तान, बङ्गलादेश, भुटानलगायतका देशमा पनि तातो वायुको असर देखिन थालेको छ । श्रीलङ्कामा भने अन्यत्रका तुलनामा वर्षा राम्रो भएको छ । त्यसकारण गर्मीको प्रभाव बिस्तारै अग्रसर हुँदै छ ।
उनका अनुसार विश्व मौसम सङ्गठन र अमेरिकाको मौसम सङ्गठनको मौसमी विश्लेषणले पनि दक्षिण एसियामा अबको एक सातासम्म तातो वायुको प्रभाव बढ्ने औंल्याएको छ । भारतमा तातो वायु बढ्ने र हावाहुरी आउने समय एकैसाथ परेकाले त्यो वायुसँगै उच्च प्रदूषणसहितको वायु नेपाल प्रवेश गर्ने सम्भावना उच्च छ । नेपालमा वर्षा नहुँदाको अवस्थामा ठूला सहरमा यतिखेर आन्तरिक प्रदूषणको चाप त्यसै बढी रहेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS