काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालका कोशी, मधेश र बागमती प्रदेशमा असर देखिने बताएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको प्राधिकरणले जानकारी दिएको छ ।
उक्त प्रणालीको प्रभावबाट मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रभावित हुनेमा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला रहेका छन् भने मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्ला रहेका छन् । त्यस्तै बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्ला रहेको प्राधिकरणले जानकारी दिएको छ ।
त्यस्तै मौसम विभागका अनुसार कोशी र बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ भने कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीमा बहाब उल्लेख्य बढ्ने र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स(साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना समेत रहेको छ ।

प्राधिकरणको अनुरोध:

सम्भावित वर्षा र हिमपातका कारण आकस्मिक बहाव, पहिरो लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्रमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक पूर्वतयारी एवं पूर्वकार्य सम्बन्धी देहाय बमोजिमका कार्यहरु गर्न गराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

क. अत्यन्त जरुरी नभई सकेसम्म यात्रा नगर्ने ।

ख. डुबान हुनेसक्ने बस्तीका बासिन्दाले उँचो (अग्लो) र सुरक्षित स्थानबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिने। आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जाने।

ग. प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्ने जोखिम देखिए सुरक्षित स्थानमा सर्ने।
घ. धान तथा अन्य बाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउने ।
ङ. प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवं सुरक्षा समितिले आवश्यकता अनुसार सवारी आवागमन बारे निर्णय गर्ने । सोको पालना गर्ने, गराउने ।
च. तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने।
छ. पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने ।
FACEBOOK COMMENTS