काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायूको साथै अरव सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल देशभर साधारणतया बदली रहेको छ भने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै कर्णाली, बागमती र कोशी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भई रहेको छ ।
विभागले आज बिहानसम्म गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मध्यम हिमपातरवर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातरवर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै विभागले कार्तिक १३ गते बिहीबार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरूमा, गण्डकी प्रदेशका केही स्थानरूमा मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको समेत सम्भावना रहेको जनाएको छ । त्यस्तै मधेश प्रदेश र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहण लगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
तिन प्रदेशमा चक्रवात ‘मोन्था’ को प्रभाव

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण नेपालका कोशी, मधेश र बागमती प्रदेशमा असर देखिने बताएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ का कारण कार्तिक १३ गते बिहीबार दिउँसोदेखि कार्तिक १५ गते शनिबार बिहानसम्म कोशी, मधेश र बागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको विभागले जानकारी दिएको छ । उक्त प्रणालीको प्रभावबाट मधेश र कोशी प्रदेशका धेरै स्थान तथा बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश र कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भू(भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रभावित हुनेमा कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला रहेका छन् भने मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा र सप्तरी जिल्ला रहेका छन् । त्यस्तै बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली जिल्ला रहेको विभागले जानकारी दिएको छ ।

FACEBOOK COMMENTS