काठमाडौँ । आगामी निर्वाचनको समयमा देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार विशेषगरी आगामी २०, २१ र २२ गतेको मौसममा कुनै ठुलो फेरबदल हुने सम्भावना छैन ।
निर्वाचनको मुख्य दिन २१ गते देशभरकै मौसम सफा रहने र मतदान प्रक्रियामा मौसमका कारण कुनै अवरोध नहुने देखिएको छ ।
हालको मौसमी अवस्थाबारे जानकारी दिँदै मौसमविद् पौडेलले मङ्गलवार देशका केही पहाडी भू–भागमा सामान्य बादल देखिए पनि वर्षाको सम्भावना नरहेको बताए । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का बादलको उपस्थिति रहे पनि अन्य स्थानमा मौसम सफा नै रहनेछ । साथै वायु प्रदूषण र स्थानीय वायुका कारण केही स्थानमा तुवाँलो लागेको भए पनि यसले कुनै मौसमी जोखिम निम्त्याउने छैन ।
निर्वाचनको भोलिपल्ट अर्थात् २२ गते पनि मौसममा केही बदली आउन सक्ने देखिएको छ । यद्यपि उक्त दिन पनि भारी वर्षा वा हिमपातको कुनै पनि संकेत नदेखिएको विभागले पुष्टि गरेको छ ।

देशभर नै वर्षा र हिमपातको सम्भावना अत्यन्तै कम रहेकाले नागरिकहरूले ढुक्क भएर निर्वाचनमा सहभागी हुन सक्ने वातावरण देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागले निर्वाचनलाई लक्षित गरी आगामी तीन दिनको मौसमी विवरण निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको पौडेलले बताए ।

FACEBOOK COMMENTS