आज बिस २०८२ माघ २८ गते बुधबार ईस २०२६ फेब्रुअरी ११ नेपाल सम्बत ११४६ सिल्लागा नवमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शिशिर ऋतु, फागुन कृष्ण नवमी, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, व्याघात योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ४६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ५२ मिनेटमा हुनेछ ।
आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस परेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यक्तित्व निर्माणको समय हो, प्रतिस्पर्द्धा बढ्दै गएको विचार गरी कुनै ज्ञानमूलक क्रियाकलापमा दिलचस्पी राख्नु र अझ धेरै मिहिनेत गर्नु राम्रो हुन्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ । आफ्नो अनुकूलता हेरी सबै कार्य सहज ढंगले गरिँदै जानेछन् । कल्पना र भावनालाई व्यवहारमा उतार्न र प्रस्फूटन गर्ने राम्रो समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

घरजग्गा, रियलस्टेट, सेयर कारोबार वा कुनै अचल सम्पत्तिको कारोबारमा लगानी गर्ने समय हो, साथै बन्दव्यापारको विकास र विस्तारमा पनि धनव्यय हुनेछ । दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ । आन्तरिक समस्याका कारण वा फाँटको कामविशेषले सहकर्मी वा जुनियर स्टाफसँग विचार÷विमर्श हुने वा कुनै कार्यक्रममा सहभागी भई रामरमाइलो गर्ने दिन हो । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

बोलीमा सामर्थ्य भएको दिन हो । कलात्मक कुरा गरेर कुनै काम बनाउन सक्नुहुन्छ । आँखाको सङ्केत र हाउभाउद्वारा पनि व्यवहार गर्ने परिस्थिति बन्नसक्छ । नाफाका दृष्टिले राम्रै समय देखिन्छ, तर वाचा पूरा गर्न नसक्नाले सेवाग्राहीको आलोचना खेप्नुपर्ने हुन्छ, बोली र व्यवहारमा नम्रता अपनाउनु होला । आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफूलाई कमजोर या नजान्ने नठान्नु होला । मिहिनेत नै त्यस्तो साँचो हो, जसले असम्भवलाई पनि सम्भवमा परिणत गर्दछ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । लामो समयदेखि सुल्झाउन नसकेको मुद्दालाई किनारा लगाउन सकिने छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । कुनै काम गर्दै जाँदा कुनै त्रुटि वा कमजोरी पनि हुनसक्छ, अनाहकमा नगरेको कामको अवगालसमेत खेप्नुपर्ने परिस्थिति देखिन्छ । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
थालेको काम बीचमा नै अवरुद्ध भएको छ भने फेरि पनि प्रयास गर्ने समय हो, खर्च बढे पनि विगतको लगानी हातलागी हुनेछ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदान-प्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको- नजानेको विषयवस्तुका बारेमा अनुभवीसँग छलफल गर्ने समय हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
इच्छाएको फाँट वा कार्यालयको जिम्मेवारी प्राप्त हुने दिन हो, कामप्रतिको अभिरुचिका कारण छोटो समयमा कार्यसम्पादन गरी प्रशंसा बटुल्न सकिने छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति-प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला, नत्र सम्बन्धमा खाडल सिर्जना हुने तथा तनाव बढ्ने समय हो । बौद्धिक क्रियालाप र आध्यात्मिक पक्षमा आकर्षण देखापर्नसक्छ । प्राविधिक विषयवस्तु र आधुनिकतम ज्ञानका क्षेत्रमा सक्रियता जनाउने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । आफ्ना उद्देश्य परिपूर्तिका लागि धनखर्च गर्न मन हौसिने दिन हो । मनपर्ने वस्त्रालंकार, उपकरण र सांसारिक सुखसुविधाको सौख जाग्नेछ । साझेदारीको कामबाट फाइदा हुनेछ । धार्मिक र आध्यात्मिक चेतना बढ्नेछ, इमानजमानको ख्याल राख्नु तथा नियमकानूनको पालना गर्नु उचित हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जीवनसाथी वा परिवारका सदस्यसँग मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूणर् समर्थन रहनेछ । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूणर् गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । भोगविलासका सरसामाग्रीको जोहो गर्ने इच्छा जाग्नेछ, त्यस्तै आज मनोरञ्जनात्मक र उच्छृङ्खल क्रियाकलापमा नजानिंदो आकर्षण बढ्ने दिन हो । बेकरिङ, क्याटरिङ, फास्टफुड, माटोको सामाग्री, औजार, भाँडाकुँडा आदिका व्यवसायी खुसी हुने दिन हो, तर सेवाग्राहीको विश्वास जित्न केही समय लाग्नसक्छ ।
FACEBOOK COMMENTS