पोखरा मंसिर ७ ,पाेखरामा साेमबारदेखि सप्ताहव्यापी पृथ्वीचाेक ट्राफिक व्यवस्थापन सुधार कार्यक्रम शुरु भएकाे छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीसहितका अन्य सराेकारवाला सघंसंस्थाकाे आयाेजनामा पाेखराकाे प्रमूख चाेकका रुपमा रहेकाे पृथ्वीचाेककाे ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यसहित कार्यक्रम आयाेजना गरिएकाे छ ।
गण्डकी प्रदेशकै मुख्य र ट्राफिक व्यवस्थापनका हिसाबले पृथ्वीचाेकलाई सराेकारवाला निकाय तथा संघसंस्थाहरुले महत्वपूर्ण स्थानका रुपमा लिने गरेका छन् । सप्ताहव्यापी अभियानका अवसरमा साेमबार आयाेजित कार्यक्रममा सहभागीहरुले जेब्राक्रसमा पैदल यात्रीहरुलाई पहिलो प्रथामिकता दिऊँ, लेन अनुशासन पालना गरौं, स्टप लाइन अगाडि मात्र सवारी रोकौं, वायाँ साइड सधै खुल्ला राखौं, गोल घुम्तिमा रहेको सवारीलाई पहिलो प्रथामिकता दिऊँ लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
साे अवसरमा सवारी चालकले ध्यान दिनु पर्ने, यात्रुहरुले बस चढ्दा ओर्लदा ख्याल गर्नुपर्ने, पैदल यात्रीहरुले सडकपार गर्दा ध्यान दिनुपर्ने कुराहरु लगायत समेटिएका विभिन्न सचेतनामुलक पर्चाहरु वितरण गरिएकाे थियाे ।
कार्यक्रममा कास्की प्रहरी प्रमूख प्रहरी उपरिक्षक रमेश थापा, बाबा फाउण्डेशन नेपालका अध्यक्ष दिलीप श्रेष्ठ, पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा. लि.का अध्यक्ष याेगेन्द्र केसी, डिभिजन सडक कार्यालय, पोखरा महानगरपालिका ट्राफिक व्यवस्थापन माहाशाखा, नेपाल खानेपानी संस्थान, स्थानीय क्लब, स्थानीय यातायात व्यवसायीहरु, पश्चिमाचंल अटो मोवाईल डिलर्स एशोसियसन एवं सडकसँग सम्बन्धित सरोकारवाला निकायहरुका अध्यक्ष एवं प्रतिनिधिहरुको उपस्थिति रहेकाे थियाे ।
