काठमाडौँ । यो साता धितोपत्र बजारमा समग्रमा गिरावट देखिएको छ । साताको पाँच कारोबार दिनमध्ये चार दिन नेप्से परिसूचक घट्दा बिहीबार भने झिनो सुधार आएको थियो ।
सोमबार २६१३.३३ विन्दुमा रहेको नेप्से साताको अन्तिम कारोबार दिन शुक्रबार २५८७.२५ विन्दुमा झरेको छ । यसरी साताभर नेप्से ३७.५५ अंकले घटेको हो ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा पुगेको थियो । उक्त दिन सेन्सेटिभ परिसूचक १.३४ अंकले घटेर ४६७.६७ विन्दुमा पुगेको थियो ।
सोमबार एक करोड ३१ लाख ७८ हजार १२८ कित्ता सेयर ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका थिए । १३ उपसमूहमध्ये व्यापार समूह मात्रै बढ्दा बाँकी सबै उपसमूहमा गिरावट आएको थियो । ४९ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको थियो भने ६ कम्पनी स्थिर रहे ।
मंगलबार पनि बजारमा गिरावट कायम रहेको थियो । उक्त दिन नेप्से ९.६२ अंकले घटेर २६०३.७१ विन्दुमा पुगेको थियो । सेन्सेटिभ परिसूचक १.०१ अंकले घटेर ४६६.६५ विन्दुमा सीमित भयो ।

यस दिन एक करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर ४ अर्ब ६५ करोड ४८ लाख रुपैयाँभन्दा बढीमा किनबेच भए । निर्जीवन बिमा र अन्य समूह बढे पनि बाँकी ११ उपसमूह घटेका थिए । ६९ कम्पनीको सेयर मूल्य बढ्दा १९९ कम्पनी घटे र १० कम्पनी स्थिर रहे ।

बुधबार नेप्से २६०० विन्दुभन्दा तल आएको थियो । उक्त दिन नेप्सेमा ४.८२ अंकको गिरावट आउँदा परिसूचक २५९८.८९ विन्दुमा झ¥यो । यस दिन ३५२ कम्पनीका एक करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका थिए ।

सो दिन व्यापार समूह ३८ अंकले बढेको थियो भने जलविद्युत र म्युचुअल फन्ड समूहमा पनि सामान्य सुधार देखिएको थियो । अरु सबै उपसूचकमा भने गिरावट आएको थियो । सिन्धु विकास बैंकको सेयर मूल्य १४.३७ प्रतिशतले बढेर सर्वाधिक वृद्धि गर्ने कम्पनीमध्ये अगाडि रह्यो । कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर ३९ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो ।
लगातार तीन दिनको गिरावटपछि बिहीबार बजारमा सामान्य सुधार देखियो । नेप्से ०.२६ अंकले बढेर २५९९.१५ विन्दुमा पुगेको थियो ।
यस दिन एक करोड २० लाख ६५ हजार ५५५ कित्ता सेयर ४ अर्ब ८९ करोड १८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका थिए । विकास बैंक, वाणिज्य बैंक, वित्त र जलविद्युत समूह बढे पनि अन्य उपसमूहमा गिरावट आयो ।
सिन्धु विकास बैंकको सेयर मूल्य १०.११ प्रतिशतले बढेको थियो । कारोबार रकमका आधारमा सिद्धार्थ बैंक ३० करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित अगाडि रह्यो भने कारोबार संख्याका आधारमा हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रह्यो ।
साताको अन्तिम कारोबार दिन शुक्रबार बजारमा पुनः दोहोरो अंकको गिरावट आएर साताको बजार बन्द भएको छ । शुक्रबार नेप्से ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेको छ । यस दिन ३५६ कम्पनीका एक करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका छन् ।
१०.७५ प्रतिशत एनएमबी डिभेञ्चर २०८९/९० को इकाई मूल्य १४.२६ प्रतिशतले बढेको थियो भने १०.७५ प्रतिशत एसबीएल डिभेञ्चर २०८९ को इकाई मूल्य ८.८० प्रतिशतले बढेको थियो ।
अर्कोतर्फ सिन्धु विकास बैंकको सेयर मूल्य ८.५५ प्रतिशतले घटेको थियो । धौलागिरी लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी, अपोलो हाइड्रोपावर र सर्वोत्तम पेन्टको सेयर मूल्यमा पनि गिरावट आएको थियो ।