काठमाडौं । आइसीसी टी–२० विश्वकपबाट बाहिरिएका वेस्ट इण्डिज र जिम्बाबेका खेलाडी स्वदेश फर्किन नपाएर भारतमै रोकिएका छन् । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण एयरस्पेस बन्द हुँदा दुवै टोलीको यात्रा प्रभावित भएको हो ।
सेमिफाइनल नपुग्दै बाहिरिएका दुवै टिम निर्धारित तालिकाअनुसार फर्किनुपर्ने थियो । तर ईरान–इजरायलबीचको द्वन्द्वका कारण पश्चिम एसियाको हवाई मार्ग अवरुद्ध भएपछि उनीहरूको उडान रद्द गरिएको हो ।
क्रिकेट वेस्ट इण्डिजले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वका देशहरूमा बढेको सैन्य गतिविधि र सुरक्षाको जोखिमका कारण अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्नुपरेको जनाएको छ । खेलाडी र प्रशिक्षकहरूको सुरक्षालाई प्राथमिकता दिँदै यात्रा स्थगित गरिएको बोर्डले स्पष्ट पारेको छ ।
जिम्बाब्वे टोलीले आइतबार दक्षिण अफ्रिकाविरुद्ध अन्तिम खेल खेलेको थियो । टोलीका केही सदस्य सोमबार दिल्लीबाट दुबई हुँदै हरारे प्रस्थान गर्ने तयारीमा थिए । तर दुबई क्षेत्रमा एयरस्पेस बन्द भएपछि उडान रद्द गरियो । हाल जिम्बाब्वे टोली दिल्लीस्थित होटलमा बसिरहेको छ ।
उता वेस्टइन्डिज टोली कोलकाताको होटलमा सुरक्षित रहेको बताइएको छ । दुवै देशका क्रिकेट बोर्डहरू आइसीसीसँग समन्वय गरेर सुरक्षित फिर्तीको विकल्प खोजिरहेका छन् ।

आईसीसीले धेरै खेलाडी र सपोर्ट स्टाफको कनेक्टिङ फ्लाइट दुबईबाट हुने भएकाले समस्या उत्पन्न भएको जनाएको छ । एयरस्पेस बन्द हुँदा वैकल्पिक मार्ग खोज्न कठिनाइ भइरहेको छ । यसका लागि आईसीसीले छुट्टै ट्राभल सपोर्ट डेस्क पनि सक्रिय गरेको छ ।

यस वर्षको टी–२० विश्वकप भारत र श्रीलंकामा आयोजना भइरहेको छ । सुपर आठ चरणपछि भारत, न्यूजिल्याण्ड, इंग्ल्यान्ड र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनलका खेल बुधबार र विहिबार हुदैछन् ।

FACEBOOK COMMENTS