काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले आफ्नो निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ ।
न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गरेको हो ।
यसअघि अन्तरिम आदेशमार्फत निलम्बन फुकुवा भएका पाण्डेको रिट खारेजी भएपछि निलम्बन कायमै रहने भएको छ ।
मेयर बालेन शाहको आदेशमा राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेशमा रोक लगाउन बल प्रयोग गरेका थिए ।
उपमेयर सुनिता डंगोलसहित जनप्रतिनिधिले उनलाई गुरागाईँलाई हाजिर गराउने क्रममा धकेलाधकेल भएको थियो ।

प्रशासकीय प्रमुख गुरागाईँले कानूनले दिएको अधिकार प्रयोग गरेर शुरुमा स्पष्टीकरण लिएका थिए, भने स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेका थिए । सो निर्णयविरुद्ध पाण्डे उच्च अदालतमा गएर अन्तरिम आदेश ल्याएका थिए ।

FACEBOOK COMMENTS