विष्णुप्रसाद सापकोटा
अध्यक्ष । राष्ट्रिय उपभोक्ता मञ्च, नुवाकोट
विष्णुप्रसाद सापकोटा नुवाकोटमा धेरैले चिन्ने नाम हो । लामो समय तत्कालीन राप्रपा नेपाल र पछिल्लो समय राप्रपामा सक्रिय सापकोटा अहिले राष्ट्रिय उपभोक्ता मञ्च नुवाकोटको अध्यक्ष छन् । २०६८ सालमै नुवाकोटमा यसको शाखा विस्तार भए पनि केही वर्ष यो संस्था निष्कृय हुन पुग्यो । फेरि अहिले यही संस्थामार्फत उपभोक्ता सचेतनाका कार्यक्रम अघि बढाउने सोचमा उनी छन् ।
जिल्लामा उपभोक्ता हित विपरीतका धेरै सवालहरू देखेका उनी पछिल्लो समय अनुगमन र नियमन गर्ने निकायहरूको भूमिका प्रभावकारी नहुँदा वेतिथि बढेको बताउँछन् । सामान्य सामान खरीदविक्रीमा मात्र नभई सार्वजनिक चासोको विषयमा समेत उपभोक्ता अधिकारवादी संघसंस्थाले ध्यान दिने बेला आएको बताउने सापकोटाले पछिल्लो समय शैक्षिक क्षेत्रमा विसंगती बढेकाले यसलाई हटाउनका लागि सरोकारवाला निकायले ध्यान दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
राप्रपामा सक्रिय रहेका सापकोटा पछिल्ला केही महिनादेखि राजनीतिलाई नेताहरूले स्वार्थ केन्द्रीत र व्यक्ति केन्द्रीत बनाउँदा आफूलाई मात्र नभई आम नागरिकलाई पनि विकृत बनाउने निष्कर्षमा पुगेका छन् । प्रस्तुत छ, सापकोटासँग यिनै विषयहरूमा केन्द्रीत रही गरिएको कुराकानीः–
नुवाकोटमा राष्ट्रिय उपभोक्ता मञ्च किन स्थापना भयो ?
राष्ट्रियस्तरमा काम गर्ने गरी २०६३ सालतिर स्थापना भएको संस्था हो । नुवाकोटमा २०६८ सालमा अनुमति लिएर हामीले काम शुरू गरेका थियौँ । विचमा केही समय निष्कृय हुन पुग्यो । अहिले हामीले पुनः क्रियाशील बनाउनको लागि पुनर्गठन मात्र गरेका हौं ।
तपाई हामी सबै उपभोक्ता हौँ । पछिल्लो समय नेपाल सरकारले तोकेको नीति, नियम र मापदण्ड भन्दा बाहिर गएर बजारमा मिसावट, कर छली, बढी मूल्यमा सामान वेच्ने, म्याद सकेका सामानहरूको विक्रीवितरण गरी उपभोक्ता ठगी गर्ने गरिएको छ । त्यसलाई रोक्नको लागि एउटा संस्थाले आवाज उठाउनु आवश्यक छ । नागरिक र उपभोक्ताको पक्षमा आवाज उठाउनेहरूको कमी भइरहेको सन्दर्भमा यो संस्थाको पुनर्गठन गरेर हामी अघि बढेका हौँ ।
नुवाकोटमा उपभोक्ता हित विपरीतका कस्ता क्रियाकलाप हुने गरेको पाउनुभयो ?
हामीले भर्खरै यो संस्था पुनर्गठन गरेका छौँ । सुक्ष्म रूपमा बजार अध्ययन गरेपछि मात्रै कस्ता खालका समस्या रहेछन् भन्न सकिएला । अहिले रहेका प्रमुख विषयहरू भने हरेक क्षेत्रमा अनियमिता र उपभोक्ता ठगी गर्ने काम भइरहेको छ । खाद्यान्नमा मिसावट, म्याद सकिएका, बढी मूल्यमा विक्री गर्ने कुराबाहेक नागरिकको विरुद्धमा रहेका धेरै विषयहरूमा हामीले उपभोक्ता तथा नागरिकलाई सचेत बनाउनुपर्ने बेला आएको छ । एउटै सामानको मूल्य पनि पसल नै पिच्छे फरक–फरक हुने गरेको छ । प्रायः हरेक क्षेत्रमा एउटा न एउटा शक्तिको आडमा उपभोक्ताहरू ठगिने गरेका छन् ।
जस्तो, यातायातको क्षेत्रमा मनलाग्दी भाडा लिने मात्र होइन, न्यूनतम स्वास्थ्य मापदण्डका उपायहरू उपलब्ध गराइएको छैन । त्यहाँ मास्क, सेनिटाइजर हुँदैनन् । स्वास्थ्य संस्थाहरूमा पनि म्याद सकिएका औषधि विक्री वितरणदेखि विभिन्न खालको समस्या रहेको छ । निर्माण सामग्री विक्री गर्दा पनि त्यस्तै छ । विद्यालयमा पनि उस्तै खालको समस्या रहेको छ । अहिले विद्यालयहरू खुलका छैनन् । त्यहाँ विभिन्न वहानामा हामी ठगिने गरेका छौँ ।
खेलकुद शुल्क, परीक्षा शुल्क, कम्प्युटर शुल्क भनेर हामीले तिर्नुपर्छ । जहाँ विद्यालय नै खुलेको छैन, त्यहाँ कसरी विद्यार्थीले कम्प्युटर चलाए ? कसरी खेले ? जहाँ खेलमैदान नै छैन ती विद्यालयहरूमा विद्यार्थीले खेलेको शुल्क तिर्नुपर्ने । त्यतिमात्र होइन, अनलाइन परीक्षाको पनि परीक्षा शुल्क तिर्नु परेको छ । कपी कलम विद्यार्थी आफैंले खरीद गरेर लेख्दा पनि परीक्षा शुल्क तिर्नुपर्ने ? निजी विद्यालयहरूले लकडाउनको बेलामै शैक्षिक सत्रको वीचमै पब्लिकेशनसँग मिलेर किताब नै बदल्नेसम्मका काम भएका छन् ।
मनोरञ्जन र सांस्कृतिक कार्यक्रमको नाममा पनि रकम असुलेको पाइएको छ । यस्तो ठगी अहिले विकृत भएका छन् । अनि वित्तीय तथा बैंकिङ क्षेत्रमा पनि अहिले उस्तै रहेको छ । सरकारले २५ जना भन्दा बढी भेला हुन पाइँदैन भनेको छ । वैंकहरूमा अहिले ट्रकका ट्रक ज्येष्ठ नागरिक ल्याएर सामाजिक सुरक्षा भत्ता दिने नाममा उनीहरूले ज्येष्ठ नागरिकलाई सास्ती दिइरहेका छन् ।
जनप्रतिनिधिहरूलाई घर–घरमा सिंहदरबारको संज्ञा दिइएको भए पनि ज्येष्ठ नागरिकलाई सास्ती भइरहेको छ । वैंकका कर्मचारी र जनप्रतिनिधि मिलेर कम्तीमा वडास्तरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कुराको चेत समेत जनप्रतिनिधिमा नभएको हो कि ? बरु हिजो जनप्रतिनिधि नहुँदा नागरिकको हातहातमा पैसा पुगेको थियो । दुरूपयोग रोक्ने नाममा यसरी नागरिकलाई सास्ती दिन कहाँ पाइन्छ ? हामीले यिनै विषयहरूमा सरोकारवालालाई ध्यानाकर्षण गराउने र नागरिकलाई सचेत गराउने अभियान सञ्चालन गर्न लागिरहेका छौँ ।
यस्ता वेतिथि रोक्न मञ्चको प्रयासले मात्र सम्भव होला र ?
उपभोक्ता भनेको तपाई हामी सबै हौँ । हामीले मात्र होइन, सबै मिलेर यस्ता विषयहरूमा बहस हुनु जरुरी छ । सचेत नागरिकहरूले यस्ता विषयमा आवाज उठाएपछि पो यस्ता विकृतिहरू विस्तारै घट्दै जाने छन् । हामीले सम्बन्धित निकायहरूमा ध्यानाकर्षण गराउने काम हो । सम्बन्धित निकायहरू पनि अचेल राजनीतिक दलको कार्यालयको सुरक्षा दिनमै ठीक छ । नारा जुलुस हुन्छ कि भनेर सचेत हुनेबाहेक आम उपभोक्ताको हकहित गर्न र नागरिकको स्वास्थ्य प्रति ध्यान केन्द्रीत गर्न नसकेको हो कि भन्ने मेरो बुझाइ हो । सार्वजनिक चासोको विषयमा पनि आवाज उठाउँदा लिखित उजुरी खोज्ने प्रशासनको रबैयाले पनि उपभोक्ता मारमा परेका छन् ।
संस्थागत रूपमा आवाज उठाउँदा यस्ता वेतिथिहरूलाई रोक्न तथा नियन्त्रण गर्न सम्वन्धित निकायलाई सिफारिस गर्ने र नागरिकका आवाज सुन्ने समन्वयको काम हामीले गर्छौं । यसका लागि हामी उपभोक्ता, विक्रेता र नियमनकारी निकाय उत्तिकै सक्रिय हुनु जरुरी छ । खरीद गर्ने उपभोक्ताले प्याकिङ सामान बनेको मिति, म्याद सकिने मिति, मूल्य हेरेर खरीद गर्ने बानी बसाल्न सके यस्ता खालका धेरै समस्या समाधान हुने छन् । हामी संघसंस्था, सञ्चारकर्मीहरूले उपभोक्तालाई सचेत गराउने खालका कार्यक्रमहरू सञ्चालन गर्ने र नियमनकारी निकायले नियमन तथा अनुगमनको कामलाई आफ्नो जिम्मेवारीभित्र राख्ने हो भने यस्ता समस्या हट्छ भन्ने मलाइ लाग्छ ।
त्यसो भए अहिले अनुगमन र नियमन गर्ने निकायको भूमिका प्रभावकारी छैन ?
लगभग अनुगमन र नियमनको काम निष्कृय रहेको छ । निष्कृय भएपछि उपभोक्ता हित विपरीतका क्रियाकलाप धेरै हुने गरेका छन् । अनुगमन गर्ने, सचेत गराउने खालका कार्यक्रमहरू सम्बन्धित निकायहरूले गर्नुपथ्र्यो । अहिले त्यसो हुन सकिरहेको छैन । हामी यसका लागि पनि सम्बन्धित निकायलाई झकझक्याउने अभियानमा छौँ ।
तपाई त राजनीतिमा पनि सक्रिया मान्छे, अब राजनीति छाडेर सामाजिक अभियानतिर लाग्नु भएको हो ?
म राजनीतिक विचारबाट विचलित भइसकेको अवस्था होइन । यो संस्थामा विभिन्न विचारसँग आवद्ध साथीहरू हुनुहुन्छ । पछिल्लो समय निष्ठा र विचारको राजनीति गर्ने अवस्था रहेन । राजनीति पनि जनताको सेवा गर्ने उद्देश्यले गरिने महान अभियान हो, तर अहिले त्यस्तो छैन । व्यक्तिगत लाभका लागि लाग्ने र पछिल्लो समय हानाथापको राजनीति गर्ने परम्पराको विकास भएको छ ।
हामी जस्ता केही सचेत मान्छेहरू राजनीतिबाट वितृष्णा ल्याएको अवस्था चाँहि छ । राजनीतिले न जनताको पक्षमा आवाज उठाउन सक्यो, न जनताको भलाइका लागि नै काम गर्न सकेको छ । न त सचेतनामूलक कार्यक्रम नै सञ्चालन गर्न सक्यो । दलीय स्वार्थ, दलीय भागवण्डा र व्यक्तिगत भागवण्डा भन्दा अरु केही गरेका छन् जस्तो लाग्दैन । त्यसैले गर्दा पनि म यो अभियानबाट चाहिँ नागरिकलाई सचेत गराउन सक्छु कि भन्नेर लागेको छु । यसको मतलव म राजनीतिबाट बाहिर छु, सन्यासै लिएको चाहिँ होइन ।
प्रस्तुतिः भोलाराज पौडेल/त्रिशूली खबरबाट साभार
FACEBOOK COMMENTS