भद्रपुर (झापा) । काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा १४ अर्ब ५६ करोड ६३ लाख रूपैयाँ बराबरको कृषिजन्यवस्तु निर्यात भएको छ ।
प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया छ अर्ब ८२ करोड रूपैयाँ, अलैँची चार अर्ब २२ करोड ६० लाख रूपैयाँ, प्लाइ तथा भेनियर एक अर्ब ९१ करोड १३ लाख रूपैयाँ बराबरको निर्यात भएको उनले बताए ।
यस्तै, अदुवा २६ करोड १३ लाख रूपैयाँ, अम्रिसो ४९ करोड ७४ लाख रूपैयाँ, बन्दा आठ करोड १७ लाख रूपैयाँ, जडीबुटी दुई करोड ६३ लाख रूपैयाँ, मसुरो दाल एक रोड ५५ लाख रूपैयाँको निर्यात भएको छ ।
सूचना अधिकारी ठाकुरले सोही अवधिमा पूर्वी नाकाबाट एक अर्ब ९६ करोड ६७ लाख ५० हजार रूपैयाँ बराबरको कृषिजन्य मालवस्तु आयात भएको जानकारी दिए ।
आयात हुने मुख्य वस्तुमा कोदो, गेँडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, आलु, मकै पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो १० करोड ९५ लाख ६८ हजार रूपैयाँ, चामल तीन करोड तीन लाख रूपैयाँ, ताजा तरकारी १८ करोड २३ लाख रूपैयाँ बराबरको आयात भएको छ ।
यसैगरी ताजा फलफूल २० करोड १८ लाख रूपैयाँ, लसुन ६१ करोड ७५ लाख रूपैयाँ, आलु २१ करोड ७४ लाख रूपैयाँ बराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS