काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकामा अवस्थित शान्त र आध्यात्मिक स्थल ‘व्हाइट गुम्बा’ (ड्रक अमिताभ पर्वत) अस्थायी रूपमा बन्द गरिएको छ ।
ठूलो सङ्ख्यामा उपस्थित भीड नियन्त्रण गर्न नसकेको र सामाजिक सञ्जालमा गलत सूचना फैलिएको कारण अस्थायी रूपमा बन्द गरिएको बताइएको छ ।
गुम्बाले एक सूचना जारी गर्दै भनेको छ– ‘दुःखको कुरा, धेरै मानिसहरूले असुविधा अनुभव गरे र कोही त अत्यधिक भीडका कारण बेहोस पनि भए । हामीले धेरै पीडादायी घटनाहरूको सामना पनि गर्यौं, जहाँ बच्चाहरू उनीहरूको परिवारबाट अलग भए । यी परिस्थितिहरूले हाम्रा आगन्तुकहरू र हाम्रो टोली दुवैको लागि असुरक्षित बनाएको छ ।’
गुम्बाले भनेको छ– ‘हामी २५ मे देखि बन्द हुँदैछौँ भनेर घोषणा गर्दा साँच्चै दुःखी छौं । यो धेरै गाह्रो निर्णय भएको छ, तर तपाईंको स्वास्थ्य, सुरक्षा र कल्याण हाम्रो प्राथमिकता हो ।’
साथै, गुम्बा प्रशासनले ‘टिकटक’ लगायत सामाजिक सञ्जालमा गलत सूचना फैलाउने व्यक्तिहरूप्रति चिन्ता व्यक्त गर्दै आम जनतालाई केवल आधिकारिक सूचनामा विश्वास गर्न आग्रह गरेको छ । गुम्बाले अहिलेसम्म साथ र समझदारीको लागि जनसमुदायलाई धन्यवाद दिएको छ र अवस्था सामान्य भएपछि चाँडै फेरि स्वागत गर्ने बताएको छ ।
FACEBOOK COMMENTS