काठमाडौं । अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट पूर्ण रुपमा बाहिरिएको छ ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग र अमेरिकी विदेश विभागले अमेरिका डब्ल्यूएचओबाट पुर्णरुपमा बाहिरिएको घोषणा गरेका हुन् ।
स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी, जुनियर र विदेश सचिव मार्को रुबियोले डब्ल्यूएचओमा अमेरिकी सदस्यता समाप्त भएको घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा डब्लुएचओ छोड्ने घोषणा गरेका थिए ।
वर्षभरि चलिरहेको प्रक्रियामा, अमेरिकाले डब्लुएचओलाई दिने सहयोग बन्द गरेको थियो भने आफ्ना सबै कर्मचारी समेत फिर्ता बोलाएको थियो । डब्ल्यूएचओबाट बाहिरिएसँगै, अमेरिकाले डब्ल्यूएचओसँग सीमित रूपमा मात्र समन्वय गर्ने बताएको छ ।
डब्ल्यूएचओले कोभिड १९ को प्रारम्भिक चरणहरूमा विश्वव्यापी जनस्वास्थ्य आपतकाल र महामारी घोषणा गर्न ढिलाइ गरेको र चीनबाट फैलिएको भनिएको कोभिडबारे डब्ल्यूएचको चीनप्रति कडा रवैया नअपनाएको भन्दै ट्रम्पले यसको औचित्य नरहेको बताउँदै आएका थिए ।

अब अमेरिकाले अन्य देशहरू, निजी क्षेत्र, गैर–सरकारी संस्थाहरू, र धार्मिक संस्थाहरूसँग प्रत्यक्ष रूपमा अवस्थित र नयाँ संलग्नताहरूमार्फत विश्वव्यापी स्वास्थ्य नेतृत्वलाई निरन्तरता दिने बताएको छ ।

अमेरिकाले औसतमा वार्षिक रूपमा डब्ल्यूएचओमा १११ मिलियन डलर आर्थिक सहयोग गर्ने गर्दथ्यो । यसबाहेक कैयौं स्वयंसेवकहरु पनि खटाउँदै आएको थियो ।

FACEBOOK COMMENTS