काठमाडौँ । गत वर्ष असोजमा बझाङी भाषामा चलचित्र बनाउने एक समूहले बझाङ सदरमुकाम चैनपुरको चौराहामा जयपृथ्वीबहादुर सिंहको सालिक निर्माण गर्यो । चलचित्र बनाउने छायाङ्कन टोलीले कथामा जयपृथ्वीबहादुर सिंहको बझाङ चिनाउने अभियान आएपछि चार दिन लगाएर सालिक बनाएका थिए ।
मध्यराति नै सालिक बनाएर सुटिङ गरेपश्चात् जयपृथ्वी नगरपालिकाले सालिकको संरक्षण गर्ने जिम्मेवारी लियो । तत्कालीन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले कलाकारले सालिक निर्माण गरेकोमा धन्यवाद दिँदै त्यसको संरक्षण गर्ने बचनसमेत दिएका थिए । तर छ महिना नपुग्दै सालिक भत्कियो । गएको चैत तेस्रो साता चैनपुरको चौराहामा राखिएको सालिकको टाउको भुइँमा र बाँकी भाग सालिकमै देखियो । स्थानीय पसलेका अनुसार ‘जँड्याहा’ले सालिक तोडफोड गरेका हुन् । “जाँड खाएर होहल्ला गर्दै आउँछन्”, एक पसलले भने, “गाली गलौज गर्दै सालिकमा लात्ती हान्छन् । पहिल्यै भत्काएको सालिकको टाउको खसिहाल्छ ।”
सालिक संरक्षणको जिम्मेवारी लिएको जयपृथ्वी नगरपालिका अहिले भने अनभिज्ञ जस्तै छ । प्रमुख प्रशासकीय अधिकृत अमरराज जोशी जयपृथ्वीको सालिकको बारेमा आफूलाई जानकारी नभएको बताउँछन् । “सालिक कुन ठाउँमा राखिएको छ ?”, उनले प्रश्न गर्दै भने, “म त भरखर आएको हुँ, सालिक चैनपुर बजारमा राखिएको भन्ने थाहै छैन । अब बुझ्नुपर्छ ।”
जयपृथ्वी नगरपालिकाका नगरप्रमुख चेतराज बजालले चलचित्र बनाउने टोलीले काम चलाउ बनाएको र अब नगरपालिकाले ठूलो सालिक बनाउने बताए । “गत वर्ष एक टोलीले काम चलाउ मात्रै बनाएको हो । काठको भाग हुँदा कसले भत्कायो भन्ने थाहा भएन । अब नगरपालिकाले दिगो समयसम्म टिक्ने गरी सालिक बनाउनेछ”, उनले भने।
FACEBOOK COMMENTS