काठमाडौं । अध्यागमन विभागले वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीलाई अतिरिक्त कागजात नचाहिने स्पष्ट पारेको छ ।
विभागले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट प्रस्थान गर्ने श्रमिकहरूले अनावश्यक रूपमा विल, रसिद वा अन्य थप कागजात बोक्नु नपर्ने विभागले स्पष्ट पारेको हो ।
वैदेशिक रोजगारीमा जाने नेपालीका लागि श्रम स्वीकृति, राहदानी जस्ता आधारभूत कागजात भए पुग्ने विभागले स्पष्ट गर्दै कुनै भ्रममा नपर्न आग्रह गरेको छ ।
यस्तै, भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका हकमा पनि प्रक्रिया सहज बनाइएको विभागले जनाएको छ ।
कम्तीमा ६ महिना वैधता भएको राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित देशको भिसा भएमा स्वघोषणासहित प्रस्थान गर्न सकिने विभागले जनाएको छ ।

गृह मन्त्रालयको पूर्व निर्णय र प्रचलित अध्यागमन कानुनअनुसार यो व्यवस्था लागू गरिएको जनाउँदै विभागले यात्रुहरूलाई भ्रममा नपर्न र आफ्नो यात्रा सम्बन्धी जानकारी पूर्ण रूपमा बुझेर ढुक्कसँग विदेश जान आग्रह गरेको छ ।
