काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आह्वान गरेको शीर्ष तीन दलको बैठकमा आफैँ अनुपस्थित भएका छन्।
बिहान ९ बजेका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली निवासमा बालकोटमा बोलाइएको बैठकमा प्रधानमन्त्री नगएका हुन्।
सत्यनिरुपण तथा मेलमिलाप आयोग (टीआरसी) लगायत संसदमा विचाराधीन विधेयकबारे प्रमुख तीन दलबीच सहमति जुटाउन भनेर आइतबार बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको छ । यसअघि वैशाख १ गतेलाई बोलाएको बैठक पनि स्थगित भएको थियो ।
बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा अनुपस्थित भएका हुन् । दुई नेता अनुपस्थित भएसँगै बैठक बस्न नसकेको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री, सभामुख र काङ्ग्रेस सभापतिसहितको शीर्ष नेताहरूको बैठक बस्ने तय भएको थियो’, उनले भने,‘ बैठक भनेर सभामुखसहित हामीहरू सबै जना समयमै बालकोट पुगेपनि प्रधानमन्त्री र कांग्रेस सभापति आउनुभएन र बैठक बस्न सकेन ।’
प्रधानमन्त्रीले आइतबार बिहान ९ बजेर २० मिनेटमा बैठक बस्न नसक्ने भनेर जानकारी गराएको सचेतक बर्तौलाको भनाइ छ।
एमाले सचेतक बर्तौलाले संसदमा विचाराधीन महत्त्वपूर्ण विधेयक, संयुक्त समिति निर्माण लगायत विषयमा शीर्ष नेताहरूबिच छलफल गरेर सहमतिमा अघि बढ्नुपर्ने भए पनि सत्तापक्षले बेवास्ता गरिरहेको गुनासो गरे ।
FACEBOOK COMMENTS