काठमाडौं। नेकपा एमालेबाट धुलिखेल नगरपालिका प्रमुख पदका उम्मेदवार अशोक कुमार ब्याञ्जुले अबका ५ वर्षमा समृद्ध धुलखेलको योजना अगाडि सारेको बताएका छन्।
संघीयता सुरु भएपछिको पहिलो स्थानीय तह निर्वाचन २०७४ मा नगरप्रमुख जितेका ब्याञ्जुले दिगो विकासका ४ वटा लक्ष पुरा गरिसकेका छन्। धुलिखेलको ५ वर्षको कार्यकालमा आफूले सुरुवात गरेका दिगो विकासका सम्पूर्ण लक्ष पुरा गर्नको लागि आउने ५वर्ष आवश्यक रहेकाले पुनः नगरप्रमुखको पदमा उम्मेदवारी दिएको बताएका छन्।
उनले भने, ‘ आगामी ५ वर्षभित्र शिक्षा, स्वास्थ्य, कृषि, वातावरण, खानेपानी र सरसफाइ, रोजगार, संस्कृति र सम्पदा संरक्षण, पर्यटन, सुशासन क्षेत्रमा मानव अधिकारमा आधारित समावेशी, समतामूलक, न्यायपूर्ण र दिगो विकास गरी नेपालकै अग्रणी नमुना नगरपालिकाका रूपमा धुलिखेललाई स्थापित गर्नेछौं।’
सबै वडाका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने, चक्रपथ बनाउने, विद्युतीय बस, बहुउद्देश्यीय बसपार्क, बिपी राजमार्गलाई नगरक्षेत्रमा ६ लेन, सूर्यविनायकदेखि धुलिखेलसम्म आठ लेनमा विस्तारमा पहल गर्नेजस्ता काम गर्नका लागि आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
‘खानेपानीमा आत्मनिर्भर बनाउने छौं। अतिविपन्न परिवारलाई मासिक १० युनिटसम्म निःशुल्क खानेपानी उपलब्ध गराउँछौं।’ ब्याञ्जुले भने, ‘सार्वजनिक स्थल र चोकमा सार्वजनिक शौचालयको निर्माण गर्नेछौं। धुलिखेल सुरक्षित, सुविधासम्पन्न र आकर्षक आवास केन्द्र र नमुना बस्तीका रूपमा विकास गर्नेछौं। एक वडा एक सुविधासम्पन्न खेलमैदान र धुलिखेल खेलमैदानलाई क्षेत्रीय रंगशालाका रूपमा विकास गर्नेछौं।’
ठूला शहरमा चुनौतिपूर्ण हुने फोहोरमैला व्यवस्थापनको लागि ल्यान्डफिल्ड साइटको पूर्वाधार निर्माण गर्न र अतिविपन्न गरिब परिवारलाई १० युनिट निःशुल्क विद्युत् उपलब्ध गराउने महत्वकांक्षी योजना लिएर आफूले मेयर पदमा उम्मेदवारी दिएको ब्याञ्जुको भनाइ छ।
FACEBOOK COMMENTS