काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँचवर्षे कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षाको अन्तिम तयारीमा छन् ।
कार्यकाल सकिनुअघि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा अधिकारी जुटेका हुन् । गभर्नरबाट बिदा हुनुअघि उनले ल्याउने मौद्रिक नीति समीक्षालाई चासोका साथ हेरिएको छ ।
अधिकारीले कार्यकालको पछिल्ला समय केही लचिलो मौद्रिक नीति ल्याएका थिए । तर, लगानीकर्तामा विश्वास भने जगाउन सकेनन् ।
आफ्नो अन्तिम मौद्रिक नीति समीक्षामा उनले कुनै ठूला नीतिगत हस्तक्षेप नगर्ने मनसाय बनाएको उनी निकटस्थहरू बताउँछन् । बरू दोष मेटाउन केही लचकता भने अपनाउन सक्ने आकलन छ । आफ्नो बिदाइ सुखद होस् भन्नकै खातिर पनि उनले यसमा लचकता अपनाउन सक्ने आकलन गरिएको हो ।
नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ । जसअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा फागुन १५ भित्र सार्वजनिक गर्नुपर्नेछ ।
पछिल्लो समीक्षाअनुसार बैंक ब्याजदरहरू न्यूनतम स्तरमा झरेका छन्, जसले कर्जा प्रवाहलाई सहज बनाएको छ । चालु आर्थिक वर्षको १२.५ प्रतिशत कर्जा वृद्धिको लक्ष्यमध्ये ६ महिनामा ५.२ प्रतिशत प्राप्त भइसकेको छ ।
तर, मुद्रास्फीति नियन्त्रण भने राष्ट्र बैंकका लागि चुनौतीपूर्ण बन्न सक्छ । चालु मौद्रिक नीतिले नीतिगत दर ५ प्रतिशतमा राख्ने लक्ष्य लिएको भए पनि पछिल्लो तथ्यांकले मुद्रास्फीति अपेक्षाभन्दा माथि गएको देखाउँछ । यसले गर्दा पनि आगामी समीक्षामा राष्ट्र बैंक केही नीतिगत समायोजन गर्न बाध्य हुन सक्छ ।
२०७६ सालमा गभर्नरका रूपमा नियुक्त भएका अधिकारीले २०७७ देखि २०८१ सम्म पाँचवटा मौद्रिक नीतिहरू ल्याए । यो उनको अन्तिम समीक्षा हुने भएकाले निजी क्षेत्र र सरकारबीचको सन्तुलन कायम राख्दै नीति निर्माण गर्ने सम्भावना छ ।
FACEBOOK COMMENTS