माल्दिभ्सको आर्थिक सङ्कट अझै चुलिने हो ? आईएमएफले दियो यस्तो चेतावनी
कर्पोरट खबर
4:50 pm, बुधबार, फाल्गुन ७, २०८१
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले माल्दिभ्सलाई समृद्ध पर्यटन उद्योगका बाबजुद आफ्नो समस्याग्रस्त अर्थतन्त्रलाई बचाउन ‘तत्काल र बलियो’ वित्तीय सुदृढीकरणको आवश्यकता रहेको चेतावनी दिएको छ ।
उच्च श्रेणीको हिन्द महासागरीय छुट्टी गन्तव्य (होलिडे डेस्टिनेसन) ले सन् २०२५ मा आफ्नो अर्थतन्त्र पाँच प्रतिशतले बढ्ने अपेक्षा गरेको छ तर आईएमएफले यो सुनौलो पूर्वानुमानले सम्भावित चुनौतीहरू लुकाएको चेतावनी दिएको छ ।
‘पूर्वानुमानको वरिपरि ठूलो अनिश्चितता छ र जोखिमहरू नकारात्मक दिशामा झुकेका छन्,’ वाशिङ्टनस्थित अन्तिम सहाराको ऋणदाताले मङ्गलबारको विज्ञप्तिमा भनेको छ, ‘थप तत्काल र बलियो वित्तीय सुदृढीकरणको आवश्यकता छ । अत्यधिक खर्च रोक्न समग्र खर्चलाई युक्तिसङ्गत बनाउनु आवश्यक छ ।’
यो सानो देशले गत वर्षको अन्त्यमा आईएमएफको राहत ऋणलाई अस्वीकार गरेको थियो र राष्ट्रपति मोहम्मद मुइज्जुले ५० प्रतिशत तलब कटौतीको घोषणा गरेर गम्भीर खर्च कटौतीको घोषणा गरेका थिए ।
मुइज्जुले अधिकांश सार्वजनिक क्षेत्रका जागिरमा अनिवार्य १० प्रतिशत तलब कटौती पनि लागू गरेका छन् ।
माल्दिभ्सले सेप्टेम्बरमा आफ्नो वित्तीय समस्या ‘अस्थायी’ भएको र सम्भावित सार्वभौम डिफल्टको चेतावनीका बाबजुद उसको राहत माग्ने कुनै योजना नभएको बताएको थियो ।
आईएमएफले समग्र वित्तीय घाटा र सार्वजनिक ऋण उच्च रहने अनुमान गरेको छ र तत्काल नीति समायोजनको आह्वान गरेको छ ।
‘माल्दिभ्सले समष्टि आर्थिक स्थिरता र ऋण दिगोपनलाई तत्काल पुनःस्थापना गर्न महत्त्वपूर्ण क्षणमा यात्रा गरिरहेको छ,’ आईएमएफले भन्यो ।
निर्मल सेतो बालुवा किनार र एकान्त रिसोर्टहरू भएको विलासी छुट्टी गन्तव्यका रूपमा परिचित माल्दिभ्स भू-राजनीतिक ‘हटस्पट’ पनि बनेको छ ।
भूमध्यरेखामा छरिएका एक हजार १९२ कोरल टापुहरू मिलेर बनेको माल्दिभ्सका लागि चीन र भारत दुई ठूला द्विपक्षीय ऋणदाता हुन् ।
बेइजिङले सन् २०२३ मा मुइज्जुको जितपछि थप कोष उपलब्ध गराउने वाचा गरेको छ । मुइज्जुले विकास कोष उपलब्ध गराउनमा ‘निस्वार्थ सहयोग’ गरेकामा चीनलाई धन्यवाद दिएका छन् ।
मुइज्जुलाई अक्टोबरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा स्वागत गरेका थिए । उनले टापुसमूहको सङ्घर्षपूर्ण अर्थतन्त्रलाई बलियो बनाउन आर्थिक सहयोग प्रदान गरे ।
आधिकारिक तथ्याङ्कले माल्दिभ्सको विदेशी ऋण सन् २०२४ को पहिलो त्रैमासिकमा तीन अर्ब ३७ करोड डलर देखाएको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को लगभग ४५ प्रतिशत हो ।
चीनले विदेशी ऋणको लगभग २० प्रतिशत हिस्सा ओगटेको छ भने भारतको मात्र १८ प्रतिशतभन्दा कम स्वामित्व रहेको छ ।
FACEBOOK COMMENTS