काठमाडौं । धितोपत्र ब्रोकर्स एसोसिएशन नेपाल (डिब्यान) ले निबन्ध प्रतियोगिताको विजेता घोषणा गरेको छ ।
विश्व वित्तीय सप्ताह २०२४ (ग्लोबल मनी विक)को उपलक्ष्यमा धितोपत्र ब्रोकर्श एसोसिएशन नेपाल (डिब्यान) ले आयोजना गरेको राष्ट्रब्यापी निबन्ध प्रतियोगिताको बिजेताको घोषणा गरेको हो ।
प्रतियोगिताका लागि एसोसिएशनले गत फागुन ३० गते एक सूचनामार्फत विभिन्न कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्रतियोगितामा सहभागिताका लागि आह्वान गरेको थियो । प्रतियोगितामा सहभागिताको अन्तिम दिन २०८० चैत ०७ गते साँझ ०५ बजेभित्र देशभरिबाट निबन्ध पठाई सहभागी भएका तथा प्रतियोगिताको नियम बमोजिम सामेल भएका ३२ जना प्रतियोगीहरूबाट बिजेता छनोट गरिएको बताइएको छ ।
‘नेपालको पूँजी बजारमा वित्तीय साक्षरता प्रवर्द्धन गर्ने पहल’ विषयमा आयोजित सो निबन्ध प्रतियोगितामा सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट किर्तिपुरमा अध्ययनरत विद्यार्थी कल्पना राजवंशी प्रथम भएका छन् । यस्तै, काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट ललितपुरमा अध्ययनरत विद्यार्थी प्रज्वल विक्रम थापा द्वितीय र मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा अध्ययनरत विद्यार्थी प्रदीप घर्ती क्षेत्री तेस्रो भएका छन् ।
विजेता हुनेमध्ये प्रथमले रू. ५० हजार, द्वितीयले रू. २५ हजार र तृतीयले रू. १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
धितोपत्र ब्रोकर्स एसोसिएशन नेपालले प्राप्त निबन्धहरूको अध्ययन तथा विजेता छनोट गर्नका लागि हरिप्रसाद वाग्ले, विष्णु कुमार गिरी र सन्दिप राणासहित गठन गरेको तीन सदस्यीय मूल्याङ्कन समितिले प्राप्त निबेदनहरूउपर विषयवस्तुको प्रस्तुति, त्यसको ब्याख्या, भाषा र विषयवस्तुको कभरेजको आधारमा मुल्याङ्कन गरी बिजेताको छनोट गरेको बताइएको छ ।
विजेताहरूलाई धितोपत्र ब्रोकर्श एसोसिएशन नेपालले एक कार्यक्रम आयोजना गरी पुरस्कार रकम हस्तान्तरण गरिने छ ।
FACEBOOK COMMENTS