काठमाडौं, १६ असोज । बढाइएको मूल्य अनुसार पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालेको छ ।
प्राधिकरणले शनिबारदेखि इन्टरनेट सेवा प्रदायकले बढेको मूल्य अनुसार पोल भाडा नतिरेको र पुरानो बक्यौता पनि नतिरेको भन्दै प्राधिकरणले देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रदायकको तार काट्न सुरु गरेको हो ।
यसअघि प्राधिकरणले पैसा उठाउन पटक पटक ताकेता गर्दै सार्वजनिक सूचना जारी गर्दै असोज १५ भित्र पोल भाडा नतिरे तार काट्ने चेतावनी दिएको थियो ।
इन्टरनेट सेवा प्रदायकहरुको संस्था इन्टरनेट सेवा प्रदायक संघ ९आइस्पान० प्राप्त विवरण अनुसार प्राधिकरणले तार काट्दा भरतपुर लगाएत बुटवल मणिग्राम, धनगडी , ताप्लेजुङ, काठमाडौंको इमाडोल, कीर्तिपुर क्षेत्रमा पनि केही सेवा प्रदायकको तार काटिएको छ । यस्तै, विराटनगरको टाँकी, धरानको केही क्षेत्र र धनकुटामा पनि प्राधिकरणका कर्मचारीले केही इन्टरनेट प्रदायकले इन्टरनेट विस्तारको लागि प्रयोग गरेको तार समेत काटेको छ ।
संघका अध्यक्ष सुधीर पराजलीका अनुसार प्राधिकरणले तार काट्दा सबैभन्दा बढी प्रभाव भरतपुर क्षेत्रमा परेको छ । प्राधिकरणले आफ्नो ओपीजी केबलबाट इन्टरनेट दिन बन्द गरिदिएको छ,’ उनले भने,‘जसका कारण भरतपुरका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ ।
प्राधिकरणले तीन वर्षअघि अस्वभाविक रुपमा विद्युत्को पोल भाडा बृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले विरोध गर्दै आइरहेका छन् । उनीहरुले प्राधिकरणले बढाइएको भाडा तिर्दा इन्टरनेटको मूल्य बढ्ने भन्दै नतिर्ने अडान लिइरहेका छन् ।
FACEBOOK COMMENTS