काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेका अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा अल्भेरो बरमेजोले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका छन् ।
मंगलबार भएको भेटमा उनीहरुबीच स्वास्थ्य सेवा क्षेत्रका विविध विषयका कुराकानी भएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले महिलाको पाठेघरमा हुने क्यान्सरको जोखिम हुन नदिन अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघले नेपाल सरकारमार्फत थप स्वास्थ्य सेवाका कार्यक्रम विस्तार गर्न र लगानी बढाउन आग्रह गरेको भेटमा सहभागी नेपाल परिवार नियोजन संघका व्यवस्थापक डा नरेशप्रताप केसीले जानकारी दिए ।
प्रधानमन्त्रीले महासंघले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा बरमेजोलाई धन्यवाद दिएका थिए ।
महानिर्देशक डा बरमेजोले महासंघले आगामी दिनमा नेपाललाई प्रदान गर्दै आएको आर्थिक एवं प्राविधिक सहयोग थप वृद्धि गर्ने बताएका थिए ।
भेटमा नेपाल परिवार नियोजन संघका अध्यक्ष हिमाल कसजू, महासंघका दक्षिण एसियाली क्षेत्रीय निर्देशक सोनाल मेहेता, प्राविधिक सल्लाहकार डा हरजोत खोसा सहभागी थिए ।
महासंघ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कामा गर्ने सबैभन्दा ठूलो विश्वव्यापी सञ्जाल भएको संस्था हो । महासंघमा विश्वका एक सय ८९ देशका परिवार नियोजन संघ आबद्ध छन् ।
नेपाल परिवार नियोजन संघले सन् १९६० मा यस महासंघको अस्थायी सदस्यता तथा सन् १९६९ मा पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो ।
मूलतः गरिब, सीमान्तकृत, सामाजिक रूपले बहिष्कृत, अल्पसंख्यक र सेवाको पहुँचबाट पछाडि पारिएका वर्ग र व्यक्तिमा परिवार नियोजन तथा यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच बढाउन महासंघले विश्वभर आफ्ना सदस्य–संघमार्फत लगानी गर्दै आएको छ ।
हाल नेपाल परिवार नियोजन संघले विभिन्न ४३ जिल्लाका तीन सय एक पालिकामा रहेका क्लिनिकमार्फत यौन तथा प्रजनन स्वास्थ्य, परिवार योजना र महिला स्वास्थ्यसँग सम्बन्धित विभिन्न क्लिनिकल सेवा तथा प्रवर्द्धनात्मक सचेतना प्रदान गरिराखेको छ ।
FACEBOOK COMMENTS