काठमाडौं । लैंगिक समानता प्रवर्द्धनका लागि ग्लोबल कम्पयाक्ट नेपालले ‘रिङ द बेल फर जेन्डर इक्वालिटी’ कार्यक्रम सञ्चालन गरेको छ ।
आज शुक्रबार ग्लोबल कम्पयाक्ट नेपाल, यूएन ओमन, इन्टरनेशनल फाइनाइन्स करर्पोरेशन, नेपाल स्टक एक्सचेन्ज र यूएन आरसीओले संयुक्त रूपमा ‘रिङ द बेल फर जेन्डर इक्वालिटी’ कार्यक्रम सञ्चालन गरेका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र अन्य अतिथिहरूले घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरे । अतिथिहरूले बजाएको घण्टी नेपाली महिलाको सामाजिक, आर्थिक र राजनीतिको बिगुल फुक्ने आवाज रहेको अयोजकहरूको भनाइ छ । ‘लैंगिक समानताका लागि घण्टी बजाउ’ कार्यक्रम नेपालमा दोस्रो पटक आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको मन्त्रालयमा बजेट भने एकदमै न्यून रहेको गुनासो गरिन् । उनले भनिन्, ‘यो वर्षको बजेट त धेरै नै न्यून छ । महिला, बालबालिका ज्येष्ठ नागरिकसँग जोडिएको संवेदनशील मन्त्रालय भएको नाताले भन्नुपर्दा ७० प्रतिशत जनसङ्ख्या ओगटेको मन्त्रालय भएको हुँदा पनि बजेटको आधारमा धेरै नै न्यून छ । त्यसैले मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि भनिसकेको छु । विद्यमान बजेटको आकारले महिलाका लागि तल्लो तहसम्म काम गर्न सक्ने स्थिति छैन र संरचना पनि छैन ।’
उनले महिलाको क्षेत्रमा छुट्याएको बजेट पनि अन्यत्र प्रयोग हुने गरेको भन्दै महिलाको लगानीमा भनेर आएको बजेट भनेपछि महिला सशक्तिकरणकै लागि खर्च गर्नुपर्नेमा मन्त्री चौधरीको जोड छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)की पूर्व अध्यक्ष भवानी राणाले लैंगिक समानताका लागि सबैले काम गरे पनि त्यसमा सफल हुन नसकेको बताइन् । उनले विगतको कुरालाई स्मरण गर्दै भनिन्, ‘म एफएनसीसीआईको अध्यक्ष हुँदा काम गर्न त्यति सहज थिएन । त्यसबेला महिलालाई अगाडि बढ्न धेरै गाह्रो नै थियो । जबसम्म हामीलाई हाम्रो परिवारले साथ दिँदैन हामी कहिले पनि अघि बढ्न सक्दैनौं । त्यसैले सँधैं परिवारको साथ चाहिन्छ । त्यो मैले पाएँ र अहिले सफल बनेकी छु ।’
राणाले आफू पुरुष भएको भए एफएनसीसीआईको चुनाव नलड्ने बताउँदै भनिन्, ‘एफएन्सीसीआई जस्तो ठाँउमा पुरुषलाई चुनाव लड्न त कति गाह्रो छ । महिलालाई झन् कति ग्राहो भयो होला । मैले चुनावमा भाग लिँदा म महिला नभई एक सक्षम नारी हुँ, मलाई भोट दिनुस् भनी आग्रह गरेँ । र सबैले मलाई सक्षम देखेर नै भोट दिनुभयो । त्यसैले सँधैं आफू पछि हट्नु भन्दा पनि सक्षम छु भनेर लड्न सक्नु पर्छ ।’
उनले दुर्गम क्षेत्रका महिला सक्षम छ तर उनीहरूले स्रोत र साधन नपाउँदा माथि आउँन नसकेको सुनाइन् । मानिसको मानसिकतामा महिलाले पनि केही गर्न सक्छ भन्ने भान पार्न जरुरी रहेको उनले बताइन् । अहिलेको पुस्तामा ट्यालेन्ट छ त्यसमा सरकार र निजी क्षेत्रले लागनी गर्न नसक्दा विदेशिनु परेको छ । यसलाई रोक्न उनीहरूमाथि लगानी गर्नु जरुरी रहेको उनले सुनाइन् ।
FACEBOOK COMMENTS